वीरगंज २ बैशाख ।
सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुले सीमावर्ती क्षेत्रमा भोगीरहेका समस्याका सम्बन्धमा सरोकारवालाबिच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको सीमा सुरक्षा बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एवम् संरचनागत समस्याका सम्बन्धमा छलफल भएको हो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रेल्वेबाट आयत हुने सामग्री बाटोमै चोरी हुने गरेकोप्रति सम्बन्धीत भारतीय निकायको ध्यानाकर्षण गराउँदै विगतको तुलनामा सुरक्षा बढेको भएपनि उद्योगी व्यवसायीले सुरक्षित महसुस गर्न नसकेका र रेल्वेबाट सामान ल्याउँदा बाटोमै चोरी हुनु अत्यन्तै दुखद विषय बताउनुभयो । पर्यटनको विकासमा दुवै देशको महत्वपूर्ण भूमिका हुने बताउँदै सीमावर्ती शहरमा पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले नेपाली नम्बरका सवारी साधन भारत प्रवेशमा हुने कठीनाईलाई सहज बनाउनुपर्ने सुझाव दिनुभएको थियो । उहाँले वीरगंज महानगरले रात्री बजारका अवसरमा ३ दिनसम्म २४ सै घण्टा खुला गरेको सीमानाकालाई निरन्तरता दिँदा दुवै देशको आर्थिक विकासमा सघाउ पुग्ने भन्दै सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढ्दै जाँदा पनि आवतजावतमा असहजता हुनेप्रति आपत्ती जनाउनु भयो । उहाँले सीमा नाका बन्द नै गर्ने हो भने स्थलगत मार्ग सँधैका लागि बन्द गरेर अन्य देश जस्तै हवाईमार्गमार्फत पासपोर्ट लिएर जाने व्यवस्था गर्नुपर्ने बताउनु भयो । मधेश प्रदेशका अध्यक्ष टेमानीले सीमावर्ती शहर रक्सौलमा प्रवेश गर्ने बित्तिकै अवैध रुपमा सञ्चालित सटही काउन्टरका कारण सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको भन्दै अवैध रुपमा रहेका सटही काउन्टरका कारण कतिपय नागरिक ठगीन पनि बाध्य भएकोे बताउनुभयो ।
उद्योगी व्यवसायीहरुले उठाएका विषय तथा समस्याका सम्बन्धमा भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी सौरभ जोरवालले सीमा क्षेत्रका समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउँदै भारतीय सीमा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सुरक्षाकर्मीको काम नागरिकलाई सुरक्षा दिने भएको हुँदा दुःख दिने काम नगर्न निर्देशन दिंदै भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेको बताउनु भयो । उहाँले नेपाली सवारी साधनको आवागमनलाई सहज बनाउने विषयमा पनि छलफल गरेर आवश्यक निस्कर्ष निकाल्ने आश्वासन समेत दिएका छन ।
कार्यक्रममा पर्सा, बारा तथा दुवै देशका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।