पर्सामा पत्रकार आचारसंहिता उल्लंघनबारे महासंघको गम्भीर ध्यानाकर्षण

वीरगञ्ज, ६ वैशाख । पर्सा जिल्लाबाट प्रकाशित तथा प्रसारित केही सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषणका क्रममा पत्रकार आचारसंहिताका आधारभूत मान्यतालाई बेवास्ता गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ।

Advertisement

महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल (फेसबुक, युट्युब) मार्फत सञ्चालित प्लेटफर्महरूले सामाजिक सद्भाव, जबरजस्ती करणी तथा व्यक्तिको गोपनीयतासँग सम्बन्धित अत्यन्त संवेदनशील विषयहरूमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरिरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ।

विज्ञप्तिमा समाचार संकलन तथा प्रसारणका क्रममा न्यूनतम शिष्टता र मर्यादा समेत ख्याल नगरी अभद्र शैलीमा सामग्री प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ। सञ्चारकर्मको नाममा भइरहेका यस्ता गतिविधिबाट समग्र सञ्चार क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको महासंघले जनाएको छ।

महासंघले यसअघि पनि सम्बन्धित संस्था तथा व्यक्तिहरूलाई पटक–पटक सचेत गराइएको स्मरण गराउँदै अब यस्ता आचारसंहिताविपरीतका गतिविधि तत्काल बन्द गर्न आग्रह गरेको छ। साथै, पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई अपिल गरिएको छ।

विज्ञप्तिमा चेतावनी दिँदै आचारसंहिता उल्लंघन गरी समाचार सम्प्रेषण जारी राखेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारिएको छ। आगामी दिनमा पनि उल्लंघन दोहोरिएमा महासंघले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box