प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित

वीरगञ्ज ३ चैत – जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उत्कृष्ट कार्यसम्पादन, कर्तव्यनिष्ठा र प्रभावकारी नेतृत्वका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

Advertisement

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर मातहत कार्यरत निरीक्षक यादवले फागुन महिनाभर विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका थिए। विशेषगरी फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला तथा २० गते मनाइएको होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले प्रभावकारी सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेका थिए।

यसैगरी, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पनि उनले उल्लेखनीय भूमिका खेलेका थिए। निर्वाचन अवधिभर जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलमार्फत विस्तृत सुरक्षा रणनीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

राजनीतिक दलका सभा, जुलुस तथा प्रचार कार्यक्रमलाई व्यवस्थित बनाउन प्रहरी परिचालन गर्दै उनी स्वयं कमाण्डरका रूपमा सक्रिय रहेका थिए। मतदानस्थल तथा केन्द्रहरूको सुरक्षा विश्लेषण, आवश्यक जनशक्ति परिचालन, मोबाइल गस्ती, निगरानी तथा चेकजाँचलाई सुदृढ बनाउन उनले विशेष पहल गरेका थिए।

त्यसैगरी, राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित निकायसँग समन्वय गरी निर्वाचन आचारसंहिता पालना गराउन पनि उनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ। मतदानका दिन मोबाइल कमाण्डरका रूपमा खटिएका यादवले मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित बनाउन योगदान दिएका थिए भने मतदानपश्चात् मतपेटिका संकलनदेखि मतगणना स्थलको सुरक्षासम्म उनले प्रभावकारी व्यवस्थापन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले निरीक्षक यादवको लगनशीलता, व्यावसायिक दक्षता र कर्तव्यप्रति समर्पणको प्रशंसा गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box