वीरगञ्ज, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरि पन्तले मतदाता, शुभेच्छुक र पार्टीका नेता–कार्यकर्ताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पर्साका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएपछि पन्तले एक धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै सबैप्रति आभार प्रकट गरेका हुन्।
जारी सन्देशमा पन्तले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट आफूलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउनुका साथै जिल्लाका चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूलाई विजय गराएकोमा सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा परिवारजनप्रति कृतज्ञता व्यक्त गरेका छन्।
पन्तले पर्सामा रास्वपाले हासिल गरेको सफलता जनताको परिवर्तन चाहनाको स्पष्ट संकेत भएको उल्लेख गरेका छन्। “तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” उनले सन्देशमा भनेका छन्।
उनका अनुसार आगामी दिनहरूमा आफू सहित पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जनताले देखाएको विश्वासलाई सम्मान गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गर्ने दिशामा काम गर्नेछन्। साथै विधिको शासन स्थापना गर्दै देशलाई सुशासन र विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
पन्तले देशलाई समृद्धिको मार्गमा अघि बढाउने अभियानमा सबैको निरन्तर साथ, सुझाव, सल्लाह, माया र आशीर्वाद आवश्यक रहने उल्लेख गर्दै आगामी यात्रामा सहकार्यको अपेक्षा गरेका छन्।
हालै सम्पन्न निर्वाचनमा पर्सा जिल्लाका चारै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। पर्सा–१ बाट हरि पन्त, पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया र पर्सा–४ बाट टेक बहादुर शाक्य निर्वाचित भएका हुन्। समानुपातिक मतमा पनि पर्सा जिल्लामा रास्वपा पहिलो पार्टी बनेको बताइएको छ।
पर्सामा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलता स्थानीय राजनीतिमा नयाँ सन्देशका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूले यस परिणामलाई जनताले परिवर्तन र सुशासनप्रति देखाएको विश्वासको रूपमा व्याख्या गरेका छन्। साथै, यस विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार हुनुका साथै राष्ट्रिय स्तरमा भ्रष्टाचारविरुद्धको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।




