वीरगन्ज १४ फागुन । ओमप्रकाश सरार्फ ले बिहीबार वीरगन्ज महानगरपालिका वडा नं. १८ (सौराहा, इनर्वा) र वडा नं. २२ (मनियारी) क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
जनमत पार्टी का प्रतिनिधि सभा सदस्य उम्मेदवार सरार्फले विगतमा नेपाली कांग्रेस, एमाले र माओवादी निकट ट्रेड युनियन गतिविधिका कारण ठूला उद्योग तथा व्यवसाय प्रभावित भएको दाबी गर्दै उद्योगीमैत्री वातावरण निर्माण आफ्नो प्राथमिकता रहने बताएका छन्।
मतदातासँगको भेटघाटमा उनले भने, “पछिल्ला वर्षमा उद्योगीमैत्री वातावरणको अभावका कारण वीरगन्जको उद्योग–धन्दा चौपट भएको छ। हामीले उद्योगीमैत्री नीति अवलम्बन गर्दै वीरगन्जलाई पुनः सार्थक औद्योगिक नगरीका रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएका छौँ।”
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले रोजगारी अभाव, व्यापारमा गिरावट र आर्थिक गतिविधि सुस्ताएको गुनासो गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै सरार्फले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक विकासलाई केन्द्रमा राखेर योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी नागरिकहरूले सरार्फप्रति समर्थन जनाउँदै विकासमुखी कार्यक्रम कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका थिए।




