बिरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तले आज इनरवामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। एक कार्यक्रमका बीच सम्पन्न उद्घाटन समारोहमा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्पर्क कार्यालय उद्घाटन गर्दै पन्तले इनरवाबासीप्रति आफूलाई विशेष माया र सम्मान रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रास्वपालाई जिताउन स्थानीयवासीहरू सक्रिय रूपमा लागिपरेको बताए। उनले इनरवाबाट प्राप्त साथ, समर्थन र विश्वासको सधैं सम्मान र कदर गर्ने प्रतिबद्धता व्यक्त गरे।
विजय साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठन विस्तार तथा आगामी चुनावी रणनीतिका विषयमा समेत धारणा राखेका थिए। स्थानीय स्तरमा पार्टी सुदृढीकरणका लागि सम्पर्क कार्यालय महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिएको छ।




