पर्सा, ५ फागुन । बिरगंज क्षेत्रसहित वरिपरिका स्थानहरूमा ट्राफिक अव्यवस्था बढ्दो छ भने ट्राफिक प्रहरी भने व्यवस्थापनभन्दा असुलीतर्फ केन्द्रित रहेको गम्भीर आरोप सार्वजनिक भएको छ । स्थानीय तथा सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारी चालकहरूका अनुसार ट्राफिक चेकजाँचको नाममा खुला आर्थिक लेनदेन हुने गरेको छ ।
विशेषगरी मितेरी पुल र बाइपास सडक क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनलाई रोक्दै चेकजाँचको बहाना बनाइ प्रती सवारी २ देखि ३ सय रुपैयाँसम्म र भन्सार महसुल नतिरेको भन्दै एक हजार रुपैयाँसम्म जबर्जस्ती असुल्ने गरिएको एक भारतीय नागरिकले दाबी गरेका छन् । “रसीदबिना रकम लिने, नदिए अनावश्यक दुःख दिने” प्रवृत्ति बढेको उनको गुनासो छ ।
यता, शहरको मुटु मानिने घन्टाघर क्षेत्रमा जथाभावी पार्किङ्ग, अव्यवस्थित टेम्पू सञ्चालन र ट्राफिक जाम दैनिक समस्या बनेको छ ।
सर्वसाधारणका अनुसार ट्राफिक प्रहरीको बिट स्थापना भएपनि प्रभावकारी व्यवस्थापन देखिँदैन । “सवारी व्यवस्थापनभन्दा आर्थिक कारोबारमा ध्यान बढी देखिन्छ,” एक स्थानीयले भने, “नियम लागू गर्नेभन्दा रकम उठाउने संस्कार हाबी भएको छ ।”
स्थानीय व्यवसायीहरू भन्छन्, ट्राफिक व्यवस्थापन कमजोर हुँदा दुर्घटनाको जोखिम बढेको छ भने सर्वसाधारणले अनावश्यक सास्ती भोग्नु परेको छ । पटक–पटक जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदा पनि ठोस सुधार नदेखिएको उनीहरूको आरोप छ ।
ट्राफिक व्यवस्थापनको नाममा यदि अवैध असुली भइरहेको हो भने सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठेको छ । अन्यथा, “जो जोगी आए पनि कानै चिरेको” उखानझैँ अवस्था दोहोरिरहने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।




