पर्सा ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र १ का उम्मेदवार हरि पन्तको समर्थनमा टेंढा क्षेत्रमा उल्लेख्य जनसहभागिता देखिएको छ। आज टेंढामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी पाँच सयभन्दा बढी स्थानीय बासिन्दा रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले देश परिवर्तनको माग बढ्दो रूपमा उठिरहेको उल्लेख गर्दै रास्वपा नै नेपाली जनताको आशा, भरोसा र परिवर्तनको संवाहक शक्ति भएको दाबी गरे।
उनीहरूले पुराना राजनीतिक अभ्यासबाट जनता निराश बनेको र अब वैकल्पिक शक्तिको आवश्यकता महसुस गरेको बताए।
पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरि पन्तले मुलुकभर रास्वपाप्रति जनलहर बढिरहेको जिकिर गर्दै आगामी सरकार बहुमतका साथ रास्वपाले गठन गर्ने दाबी गरे।
उनले “जेन्जी विद्रोहद्वारा विस्थापित पुराना शक्तिहरू नै मुलुकको समृद्धि र विकासमा बाधक बनेका कारण अब जनता नयाँ शक्तितर्फ उन्मुख भएका छन्,” भन्दै आफ्नो जित सुनिश्चित रहेको बताए।
विशाल कुशवाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा टेंढाका साकिर हुसेन, अबुलेश हुसेन लगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी सगिर आलम, पूर्ण सपकोटा, मनिष यादव, कमला भुजेल, चन्दन यादव लगायतले मन्तव्य राख्दै हरि पन्तलाई विजयी गराउन आह्वान गरेका थिए। टेंढामा देखिएको यो सहभागितालाई स्थानीयले आगामी निर्वाचनको संकेतका रूपमा समेत हेरिरहेका छन्।




