मधेशीलाई अपमानित गर्ने अध्यक्षको पार्टीबाट उम्मेदवारी दिएको भन्दै प्रदीप यादवप्रति स्थानीय आक्रोशित

पर्सा, २५ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप यादवले विगतमा मधेस आन्दोलनको विपक्षमा उभिएको र आन्दोलन दमनमा जोडिएको भनिएको दलबाट उम्मेदवारी दिएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि र आक्रोश बढ्दै गएको छ ।

Advertisement

स्थानीय बासिन्दाका अनुसार २०७२÷७३ सालको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर धेरै मधेसी युवाहरूले सहादत दिएका थिए ।

उक्त घटनामा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमाथि आन्दोलन दमन गर्न कडा कदम चालेको र गोली चलाउन आदेश दिएको आरोप लाग्दै आएको थियो । अहिले त्यही पार्टी नेकपा एमालेबाट प्रदीप यादवले उम्मेदवारी दिएपछि आन्दोलनमा सहभागी परिवार र स्थानीय मतदातामा मिश्रित प्रतिक्रिया देखिएको छ ।

केही स्थानीयले यादवको कदमलाई “दोधारो राजनीति” भन्दै आलोचना गरेका छन् । “मधेसको अधिकारका लागि आन्दोलन गर्ने, तर पछि आन्दोलन दबाउने शक्तिसँगै उभिनु शहीदको अपमान हो,” एक स्थानीय अगुवाले बताए । उनीहरूले राजनीतिक अवसरवादका कारण सिद्धान्त त्यागिएको आरोप समेत लगाएका छन् ।

यद्यपि, यादव पक्षधरहरूले भने लोकतान्त्रिक अभ्यासमा दल परिवर्तन स्वाभाविक प्रक्रिया भएको बताउँदै विकास र स्थायित्वका लागि आफू उम्मेदवार बनेको दाबी गरेका छन् । उनीहरूले विगतभन्दा वर्तमान एजेन्डामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा यो विषय पर्सा–१ मा प्रमुख राजनीतिक बहस बनेको छ । मधेस आन्दोलन सँग भावनात्मक रूपमा जोडिएका मतदाताको प्रतिक्रिया नै चुनावी परिणाममा निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।

केही दिन पहिला वीरगंज–१६ नगवामा चुनावी कार्यक्रमको लागि पुग्दा सोही आक्रोशका कारण उम्मेदवार यादव लखेटिएको नगवाका एक युवाले बताए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box