एकै व्यक्तिको बहु–भूमिका, पर्सा ट्राफिकमा आर्थिक चलखेलको आरोप

बिरगंज २१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेमाथि आर्थिक आतंक मच्चाएको गम्भीर आरोप लागेको छ । कार्यालयभित्रैका स्रोतहरूका अनुसार हवल्दार गोलेले एकलै तीन स्थानमा प्रभाव जमाउँदै आएको बताइन्छ ।

Advertisement

स्रोतका अनुसार गोले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा हवल्दार मेजरको भूमिका, कार्यालय क्लर्क तथा यातायात व्यवस्था कार्यालय बिरगंज अन्तर्गतको ट्रायल सेन्टरसम्म प्रभाव राख्ने गरेको आरोप छ । यसरी एउटै व्यक्तिले धेरै स्थानमा पहुँच राख्दा कार्यालयको कार्यसम्पादन र पारदर्शितामाथि प्रश्न उठेको छ ।

ट्राफिक प्रहरी कार्यालय पर्सामा गोलेले ई–रिक्सा संघका अध्यक्षहरूसँग महिनावारी रकम लिने गरेको, ट्राफिक सिफारिसका लागि दुई सयदेखि पाँच सय रुपैयाँसम्म असुल्ने गरेको आरोप लागेको छ । त्यस्तै, ट्रायल सेन्टरबाट समेत आर्थिक लाभ लिने गरेको गुनासो प्रहरी वृत्तभित्रै उठ्न थालेको बताइन्छ ।

कार्यालयभित्रका धेरै ट्राफिक प्रहरी कर्मचारीहरू हवल्दार गोलेको व्यवहारबाट मानसिक रूपमा पीडित भएको र उनको एकल दबदबाले इमान्दार प्रहरीहरूलाई काम गर्न कठिन भएको गुनासो सुनिन थालेको छ ।
यस विषयमा सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ । यदि आरोप सत्य भएमा यसले नेपाल प्रहरीको छविमा गम्भीर असर पार्ने भएकाले उच्च तहबाट निष्पक्ष अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box