नयाँ दिल्ली २६ डिसेम्बर । चीनबाट दुई दिनअघि फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।
पुरुषमा कोभिड-१९ पुष्टि भएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनको जीनोम सिक्वेन्सिङका लागि नमूना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन् । ती व्यक्तिलाई उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
२३ डिसेम्बरमा चीनबाट दिल्ली हुँदै आग्रा आएका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो ।
चीनमा अहिले फेरि कोभिड महामारी फैलिएको छ । व्यापक विरोधपछि सरकारले यसै महिनाको सुरुमा कोभिडसम्बन्धी नियम हटाएको थियो । त्यसपछि दैनिक लाखौँमा संक्रमण फैलिएको अनुमान गरिएको छ ।
छिमकी चीनमा कोभिड फैलिएपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन भनिएको छ । नेपालमा पनि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।