कोरोना भाइरसको जोखिम बढ्ने आंकलन स्वास्थ्य संस्था आवश्यक तयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भन्यो ‘कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिनसक्छ, सावधानी अपनाउनू ।’

चीनमा ओमिक्रोनको सबभेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ ।

चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ डेस्क र स्वास्थ्य संस्थाले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कतालगायत आवश्यक तयारीका लागि सतर्क गराएको हो । 

संक्रमण देखिएका मुलुकसँग समन्वय गर्दै निगरानी बढाउन सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि, चीनलगायत मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सव–भेरिएन्ट ‘बीएफ–७’ नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

चीनमा ओमिक्रोनको सब–भेरिएन्ट ‘बीएफ–७’ का कारण नयाँ लहर आएको जनाउँदै धुलिखेल अस्पतालका जिनोम सिक्वेन्स् ल्याबका प्रमुख डा.राजीव श्रेष्ठ भन्छन्, ‘यो भेरिएन्ट भारतको गुजरात र उडिसा राज्यमा पछिल्लो ६ महिनामा ४ जनामा पुष्टि भइसकेको छ ।’ सेल होस्ट एन्ड माइक्रोब जर्नलमा हालै प्रकाशित एक रिपोर्टअनुसार मुख्य भेरिएन्टको दाँजोमा ‘बीएफ–७’, सब–भेरिएन्टमा ४.४ गुणा बढीे ‘न्युट्रलाइजेसन रेसिस्टेन्ट’ क्षमता पाइएको छ । जसका कारण खोप वा प्राकृतिक संक्रमणबाट मानिसको शरीरमा विकसित कोरोनाविरुद्घको एन्टिबडीले ‘बीएफ–७’ लाई नष्ट गर्न कम सक्षम देखिएको छ । यसको संक्रमणबाट जोगिन बुस्टर डोजमा लिन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

‘न्युट्रलाइजेसन एन्टिबडी बढाउन बुस्टर डोज लिनु आवश्यक छ । त्यसैले अर्को कुनै भेरिएन्ट आयो भनेर त्रसित हुनुभन्दा पनि खोपमै जोड दिनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘कोभिडविरुद्घको तेस्रो मात्रा धेरैले लिएका छैनन् ।’ चीनले आफ्नो मुलुकमा उत्पादित खोप मात्र उपयोग गरेको र त्यसको प्रभावकारिता ५० प्रतिशतभन्दा कम देखिएको डा. श्रेष्ठ बताउँछन् । ‘हामी कहँ उपयोग भएका अधिकांश खोपको प्रभावकारिता उच्च छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ करोड ३७ लाख ३६ हजार ४ सय मात्रा चीनमा उत्पादित भेरोसेल भित्रिएको छ । त्यसमध्ये ४२ लाख ८० हजार ९ सय ९६ मात्रा मौज्दात छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी शाखाका प्रमुख डा. अभियान गौतमले बुस्टर डोज लगाउनेको संख्या कम भएकाले संक्रमणको जोखिम कायम रहेको बताए । ‘खोपको विकल्प छैन, यी सबै भेरिएन्टमा खोपले काम गर्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ लाख ७२ हजार ७ सय ९१ जनाले मात्र खोपको अतिरिक्त मात्रा लिएका छन् । त्यस्तै कुल जनसंख्याको ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले खोपको पूर्ण मात्रा लिएका छन् । एक मात्रा खोप लगाउनेको संख्या २ करोड ३२ लाख ८ हजार ४ सय ८३ छ । यो कुल जनख्याको ७९.५ प्रतिशत हो । मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता ५ करोड ३५ लाख ६ हजार २३ सय ७ मात्रा खोप लगाइसकिएको छ ।

देशभर बिहीबार एन्टिजेन र पीसीआर गरी १ हजार १ सय ९० नमुना परीक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएको छ । १५ जना सक्रिय संक्रमित छन् । नेपालमा मुख्य रूपले ओमिक्रोनकै विभिन्न सब–भेरिएन्ट देखिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिङमा ओमिक्रोनका सब–भेरिएन्टहरू ‘बीए–२’, बीए–२.७५, बीए–२.७५.१, बीए–२.७५.२, बीए–२.७५.३, बीए–२.७५.५, बीए–२.७५.६, बीए–२.७६, बीए–५.२, बीए–५.२.१, बीएम–१, बीएम–१.१.३, बीएन–१.३, बीक्यू–१.१, बीक्यू–१.२, बीवाई–१, र एक्सबीबी पुष्टि भएका छन् ।

Facebook Comments Box

समन्धित समाचार