वीरगञ्ज महानगरले अचानक जाडो बढेपछि आगो ताप्ने व्यवस्था मिलाउँदै


बिरगंज ७ पुस । कठ्याग्रिदो जाडो बढेसँगै वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाउन लागेको छ । बिहीबार बिहान बसेको महानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले ३२ वटै वडाका आवश्यक स्थानको पहिचान गरी जाडोबाट बँच्न आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।


सम्बन्धित वडाअध्यक्षहरुको समन्वयमा महानगरपालिकाले आवश्यक परेका स्थानमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । बैठकले बजार क्षेत्रलाई मध्यनजर गर्दै रातमा सडक तथा चौरमा खुला आकाशमुनी रात विताउन बाध्य भएका अतिविपन्नहरुलाई जाडो महिनाभर राति सुत्नका लागि बसेराको निर्माण गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले अतिविपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कपडा पनि उपलब्ध गराउने निर्णय गरेको छ ।


महानगरपालिकाका मेयर राजेशमान सिंहले जाडो सुरु भइसकेकाले अब छिट्टै चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन आफूहरुले काम गरिरहेको भन्दै तत्काल आवश्यक स्थानको पहिचान गरेर जानकारी दिन वडाअध्यक्षहरुलाई आग्रह गरेका थिए ।
‘जाडो सुरु भइसकेको छ, अबको १÷२ दिनभित्रै तपाईहरुले दिनुभएको स्थानमा दाउरा झार्ने काम हुन्छ,’ उनले भने ‘जाडोबाट बँच्न आवश्यक पर्ने दाउरा महानगरले उपलब्ध गराउँछ ।’


महानगरपालिकाले डिभिजन वन कार्यालयसँग आवश्यक दाउरा माग गरेको र अहिले वन कार्यालयले ८ चट्टा दाउरा उपलब्ध गराउने भएको मेयर सिंहले बैठकमा जानकारी दिए । वन कार्यालयबाट उपलब्ध दाउरा र महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु आवश्यक परेका ठाउँमा आगो बाल्न उपलब्ध गराउने पनि उनले बताए ।


जाडो महिनामा नै आगलागी जस्ता घटना पनि हुने भएकाले त्यसतर्फ पनि सचेत भएर काम गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिमल्सिनाले जाडोका कारण समस्या आउन नदिन सबैको सहयोग आवश्यक रहेको बताए ।
वडा नम्वर ४ का वडाध्यक्ष जगत साहले विपत जोखिम नक्सांकन गरेर काम गर्न सकिए शितलहर तथा अन्य विपतबाट बँच्न सहज हुने भन्दै त्यसतर्फ अगाडी बढ्न सुझाव दिए ।


वडा नम्वर २० का वडाअध्यक्ष रामकिशोर सिंह ‘पराग’ ले न्यानो कपडा वितरण गर्दा एक ठाउँमा जम्मा पारेर वितरण गर्नु भन्दा विपन्न पहिचान गरेर उनीहरुको घरघरमै पुर्याउने व्यवस्था मिलाए बढी प्रभावकारी हुने बताए ।


यस्तै बैठकले छिमेकी चीन र भारत दुबैतर्फ फेरि पनि कोरोना संक्रमण बढीरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सचेतना कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ । बैठकमा महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, महानगरका विभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.