बिरगंज २ पुस । बिरगंज आशा किरण केन्द्रले मस्तिष्क पक्षघात र सुस्त मनस्थिति भएका बालबालिकालाई केन्द्रित गरी संचालन गरेको दिवा हेरचाह केन्द्रलाई वीरगञ्ज महानगरपालिकाले सहयोग गर्ने भएको छ ।
केन्द्रले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा पुग्नु भएका नगरप्रमुख राजेशमान सिंहले केन्द्रलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।
सुस्त मनस्थिति तथा मस्तिष्क पक्षघात भएका बालबालिका पनि समाजकै नागरिक रहेको भन्दै नगरप्रमुख सिंहले उनीहरुको हेरचाहमा केन्द्रले निभाएको भूमिकाको प्रशंसा गर्नु भयो ।
वीरगञ्जको चिनीमिल नजिक श्री सिद्धार्थ माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको केन्द्रले अहिले यस आसपासका सुस्त मनस्थिति भएका बालबालिकाहरूलाई दिनमा हेरचाहसँगै पठनपाठन र खेलकुदमा संलग्न गराउँदै आइरहेको छ ।
शुक्रबारदेखि केन्द्रले आफ्नो वार्षिकोत्सबको अवसर पारेर जेष्ठ नागरिक, एकल महिला लगायत सर्वसाधारणका लागि निशुल्क दन्त, आँखा परिक्षण, स्त्री रोग, हाडजोर्नी सहितको तीन दिने स्वास्थ्य शिविर संचालन गरिरहेको छ ।