बिरगंज १ पुस । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमा दादुरा र रुबेला जस्तै लक्षण देखिएका बिरामी चिकेनपक्सको संक्रमित भएको पाइएको छ ।
दादुरा र रुबेलाको लक्षणसँग मिल्दोजुल्दो बिरामी देखिएको खबर आएसँगै महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट ल्याबसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ देखिएका बिरामी चिकेनपक्स (ठेउला)को संक्रमित भएको पुष्टि गरेको हो ।
चिकेन पक्स सरुवा रोग भएको र यो हरेक वर्ष जसो छिटफुट व्यक्तिमा देखिने गरेको महानगरका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले जानकारी दिए ।
‘अठराहाँमा दादुरा र रुबेलाका बिरामी भेटिएको भन्ने खबर आयो,’ कुर्मीले भने, ‘खबर आएसँगै महानगरको स्वास्थ्यकर्मीको टोली ल्याबसहित पुगेर बिरामीको स्क्रिनिङ, रोगको इतिहास र शारिरिक परीक्षण गर्दा चिकेनपक्स भएको खुल्यो ।’
वडा नम्वर २६ को सुगौली स्वास्थ्य चौकीमा पछिल्लो केही दिनदेखि यस्ता बिरामीहरु उपचारका लागि आउने गरेका थिए । त्यस क्षेत्रमा आजसम्म ९१ जनामा यस्तो लक्षण भएकाहरु उपचारका लागि स्वास्थ्य चौकीमा आएको स्वास्थ्य चौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिइन् ।
७५ जनामा संक्रमण निको भइसकेको र बाँकी बिरामीको अवस्था पनि सामान्य रहेको उनले बताइन् ।
ठूलै संख्यामा दादुरा र रुबेलासँग लक्षण मिल्ने बिरामी भेटिएपछि आफूले थप सहयोगका लागि स्वास्थ्य महाशाखामा जानकारी गराएको उनले बताइन् । जानकारी पाएसँगै पुगेको टोलीले घरघरमै पुगेर बिरामीलाई भेट्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था परीक्षण गरेको थियो । टोलीले स्थानीय जम्मा गरेर चिकेनपक्स बारेमा स्वास्थ्य चेतना जगाउने काम गर्नुका साथै स्वास्थ्य स्वंयसेवीहरुलाई टोलटोलमा परिचालन गराएको छ । विगतका वर्षमा छिटफुटमा देखिएको यो बिरामीको संख्या वीरगञ्जमा एउटै ठाउँमा यति धेरै संख्यामा भने पहिलो पटक देखिएको जनस्वास्थ्य निरीक्षक कुर्मीले बताए ।
चिकेनपक्स (ठेउला) विशेषगरेर २ वर्षदेखि १० वर्ष उमेर समुहका बालबालिकामा देखिने गरेको भए पनि यहाँ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिएको छ ।