बिरगंज २० मंसिर । बारामा मलको विषयलाई लिएर दुई पक्षबीच झडप हुदा १२ जना घाइते भएका छन ।
बाराको सिम्रौनगढ नगरपालिका–४ मा मंगलबार रासायनिक मलको विषयलाई लिएर उत्पन्न विवाद बढेर उग्ररुप लिँदा झडपहुदा १२ जना घाइते भएका छन् ।
झडपमा घाइतेहरुको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । अरुण पण्डितलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको छ । प्रहरीले भने घटनामा परी ४ जना मात्रै घाइते भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले झडपमा स्थानीय दिपेन्द्र सहनी, सराजुल अन्सारी, अजय यादव र अरुणकुमार पण्डित सामान्य घाइते भएको जानकारी दिए ।
एउटा पक्षले वडा कार्यालयमा लगाएको ताल्चा अर्को पक्षले खोल्न खोज्दा झडप भएको थियो । वडा कार्यालयमा तालाबन्दी गरेका कारण समस्यामा परेका सेवाग्राहीले ताल्चा खोलेको एउटा पक्षको दावी छ भने अर्को पक्षले तालाबन्दी गर्ने पक्षसँग समन्वय नगरी जबर्जस्ती ताल्चा खोल्न खोजेपछि स्थिति विग्रिएको बताएको छ ।
सरकारले अनुदानमा दिँदै आएको रासायनिक मल सिम्रौनगढ ४ मा वडा कार्यालयले नै दामासाहीले वितरण गर्दै आएको छ । वडा कार्यालयले मंसिर १५ गते सूचना निकालेर रासायनिक मलका लागि नागरिकताको प्रतिलिपीसहित निवेदन दिन वडाका किसानसँग आग्रह गरेको थियो । सूचनामा यसरी निवेदन दिने अन्तिम मिति मंसिर १८ आइतबारसम्म भनिएको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर वडा कार्यालय बन्द भइसकेको थियो ।
अपरान्ह ४ बजेसम्म खोल्नुपर्ने कार्यालय त्यसअघि नै बन्द गरेका कारण मलका लागि निवेदन दिनबाट आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
मंगलबार सोही तालाबन्दी खोल्न खोज्दा विवाद उत्कर्षमा पुगेर झडपमा परिणत भएको थियो । वडा प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बाराबाट गएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन ।