काठमाडौं १४ मसिर । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाएरै छाड्ने तयारीमा काठमाण्डौँ महानगरपालिका रहेको छ ।
स्रोतका अनुसार संघ सरकारलाई पनि अनुरोध गर्ने तर कुनै पनि हालतमा बस्ती खाली गराएर छाड्ने योजना महानगरभित्र तयार भईरहेको छ । यस अघि खाली गराउने प्रयास असफल भए पछि पछि नहट्ने तयारीमा महानगर रहेको बुझिएको छ ।
अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ ।
४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो ।
पूर्वयोजनाअनुसार सोमबार थापाथली पुगेको महानगरको प्रहरी टोलीमाथि स्थानीयले ढुंगा बर्सााएका थिए ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् । बालेनको सचिवालयले बागमती नदी किनारको प्रमुख सरोकारवाला महानगर भएकाले किनार व्यवस्थित गराउने उद्देश्यले काम सुरु भएको बताएको छ ।
महानगर पछि नहट्ने संकेत पाएपछि मंगलबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् ।