स्याङ्जा मंसीर ११ । एमालेका कार्यकर्ताले पार्टीभित्र अन्तरघात गरी स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएको भन्दै पुतलीबजार नगरपालिका १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीमाथि कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् ।
पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएका सुवेदीको घरभित्रै पसेर गएराति आक्रमण गरेको प्रहरीले बताएको छ । सुवेदीको टाउको र शरीरका विभिन्न भागमा चोट छ।
आफ्ना बुवालाई संरक्षण गर्न खोज्दा सुवेदीकी १८ वर्षीया छोरी बिनितामाथि पनि आक्रमण भएको छ। उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको सुवेदी पत्नी जानकीले बताइन्।
एमालेतर्फका उम्मेदवार मरासिनी कांग्रेसका उम्मेदवार राजु थापासँग पराजित भएपछि अन्तरघातको आशंकामा एमाले समर्थित युवाहरुले एमाले वडा इन्चार्जलाई कुटपिट गरेका हुन्।
कुटपिटमा संलग्न रहेको भन्दै डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। कुटपिटमा संलग्न युवाहरु फरार छन्। सुवेदीलाई कुटपिट गर्नुपूर्व उनीहरुले एमाले पार्टी कार्यालय तोडफोड गरेको स्थानीयले जनाए।




