दिपक चौरसिया
बिरगंज २८ कार्तिक । विश्व मधुमेह दिवस सोमबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ ।
वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाले मधुमेह हेरचाहमा पहुँच भन्ने नाराका साथ आयोजना गरेको साे दिवस विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य सङ्गठनको घोषणाअनुरुप सन् १९९१ देखि मनाउन थालिएको हो ।
महानगरको सभाहलमा आयोजना गरिएको कार्यक्रमको नगर प्रमुख राजेशमान सिंहले आफ्नो रगत परिक्षण गराइ उद्घाटन गरेका हुन । मन्तव्य राख्दै प्रमुख सिंहले तालिका बनाइ महानगरका सम्पूर्ण कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाइ सुझाव दिनुभयो । कार्यक्रममा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरुको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताए ।
मधुमेह उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसर पारेर हरेक वर्ष नोभेम्बेर १४ लाई विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि यो रोग उल्लेखनीय रुपमा बढिरहेको तथ्याङ्क छ । छिटो-छिटो पिसाब लाग्ने, मुखसुक्ने, बढी भोक लाग्ने, तौल घट्ने जस्ता मधुमेह रोगका लक्षणहरू हुन् । यसबाट जोगिन खानपिन र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने मेयर सिंहले सुझाव दिएका थिए ।
बिरगंजमा पनि विश्व मधुमेह दिवस मनाइयो