पर्सा २३ जेठ ।नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सक्रियता देखाउनुभएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको हाे । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा आइतबार बालुवाटार जानुभएको थियो । भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
त्यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ । यसैबीच, गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसदमा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ संशोधनकाे विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभामा पेस गरेको प्रतिवेदनमा सहमति जुटाएर संसदमा पेश गर्न विभिन्न राजनीतिक पार्टीसँग छलफल गर्ने निर्णय भएको छ ।
नागरिकता ऐनमा वैवाहिक अंगीकृत, अंगीकृत, जन्मसिद्ध नागरिकका सन्तानलाई दिने नागरिकता, गैरआवासीय नागरिकलाई दिने नागरिकता, आमाको नामबाट नागरिकतालगायतमा सहमति जुट्न सकिरहेको छैन ।
सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता ऐन पेश गर्ने तयारी गरेको छ ।