वीरगञ्ज २४ चैत । वीरगञ्ज महानगरपालिकास्थित तिलावेपुल नजिक शनिवार बिहान प्रहरीको कुटपिटबाट एक ई-रिक्सा चालक घाइते भएका छन् ।
विन्दवासिनी प्रहरी चौकीका प्रहरी जवान कौशल चौधरीको कुटपिटबाट पर्साको बहुदरमाई नगरपालिका – ८ रामनगरीका २८ वर्षीय ई रिक्सा चालक रञ्जन साह घाइते भएका हुन् । साहले चलाएको ई-रिक्सा रोकेर प्रहरी जवान चौधरीले उनीमाथि कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ ।
भिडियोमा ई-रिक्सा चालकको टाउकोबाट रगत खसी रहँदा पनि प्रहरी जवान चौधरीले उनको कलर समातेर लगेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई प्रहरीको दादागिरी भन्दै आलोचना गर्नुका साथै उनीमाथि कारबाहीको माग गरेका छन् ।
स्थानीयहरूका अनुसार वीरगञ्ज तर्फ आइरहेको मधेस प्रदेश ०३-००२ ख १८२२ नम्बरको ई-रिक्सा लोडर तिलावे पुल नजिक ड्युटीमा खटेको प्रहरी जवान चौधरीले रोक्नको लागि सिटी बजाएका थिए । प्रहरीको सिटी सुनेर पछाडि हेर्दा प्रहरी जवान चौधरी अर्कै तर्फ फर्केको हेरेर साहले ई-रिक्सा अगाडी बढाउन खोजेका थिए ।
त्यसपछि ड्युटीमा खटिएका प्रहरी जवान चौधरी पछाडिबाट आएको बसमा चढेर तिलावे पुल पारि तेल ट्याङ्की नजिक पुगेर ई-रिक्सालाई रोक्दै आफूले रोक्न भन्दा पनि किन नरोएको भनेर प्रश्न गरेका थिए । सोही क्रममा चौधरीले साहमाथि हातपात गरेको स्थानीयहरूको भनाई छ । घाइते ई-रिक्सा चालक उपचार पश्चात् अहिले स्वास्थ्य लाभ लिइरहेका छन् ।
घटना बारे आफूले जिल्ला प्रहरी कार्यालयमा जाहेर गरिसकेको बत्ताउँदै सम्बन्धित प्रहरीसँग स्पष्टीकरण सोधिने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताए । गल्ती गरेको देखिए कारबाही हुने प्रहरी निरीक्षक केसीले दाबी गरे । सभार : यात्रा देलि