वीरगंज, भद्रपुर नगरपालिका–३,पृथ्वीनगरस्थित कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच भवनका संरचना पुष्टि भएको छ। पुरातत्व विभागको उत्खननपछि उक्त स्थानमा भएको खोजले यसको पुष्टि गरेको हो।
पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एक ठूलो भवन, त्यसको दक्षिणमा अर्को भवन, उत्तरपश्चिममा सेन्ट्री बस्नेससहितको अर्को भवन, र दक्षिण पश्चिममा अर्को ठूलो भवनको संरचना भएको जानकारी दिए। उनले चार भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुई अवस्थित सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनको संरचना फेला परेका बताए।
पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताए। “संभवतः अर्को वर्षसम्म उत्खनन पूरा हुनेछ। अझै गहिराईसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ,” उनले भने। उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए।
पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलोपटक उत्खन गरेको थियो। यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो। यसपटकको उत्खनन सातौं हो। यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो। विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए।