वीरगंज १९ चैत्र । वीरगंज महानगरपालिका वडा नं. २९ बसडिलवामा निर्माणाधिन सडक क्षेत्रमा परेको घर टहरा हटाइएको छ ।
सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो ।
वीरगंज महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो ।
महानगरपालिकाको बगहिदेखि मुसैली बसडिलवा, बकनेर हुँदै पर्सागढी नगरपालिका वडा नं. ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्कि सडक बनिरहेको छ ।
नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांस क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिलवामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो ।
पटक पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रमुख राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहितको टोली पठाउनु भएको थियो ।
महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो ।
२० करोड ५१ लाखको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरि सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ ।
सडकमा परेको संरचना हटाउन वडा नं. २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुषाल, स्थानीय राधेचन्द्र यादब लगायतको सहभागिता रहेको थियो ।