बिरगंज १३ फागुन । काठमाडौंमा सन्तानविहिन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाँउदै वीरगन्जमा भने जन्मिएको शीशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना प्रकाशमा आएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आँफूले जन्माएको नवजात शीशु अस्पतालको बेडमै छाडेर एक जना महिला बेपत्ता हिँडेको घटना प्रकाशमा आएको हो ।
नारायणी अस्पतालका सुचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पतालको प्रसूती विभागमा शनिबार जन्मिएको नवजात शीशु अस्पतालको बेडमै छाडेर शीशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहिन भएका हुन् ।
आइतबार साँझसम्म पनि ती महिला वा उनका आफन्त कोहिपनि सम्पर्कमा नआएको सिंहले मधेसखबरलाई जानकारी दिए । शीशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको उनले बताए ।
डाक्टर सिंहका अनुसार, शनिबार प्रसूती गराउनका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षिया गर्भवती महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन् । ती महिलाको पतिको नाम धिरज साह कानु रहेको अस्पतालको रेकर्डमा उल्लेख छ । डाक्टर सिंहका अनुसार, प्रसूती गराउन अस्पतालमा आँउदा उनका पति भने आएका थिएनन् ।
शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन् । यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए । अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासंग कच्कच् गरेपछि झगडापनि भएको थियो । झगडा भएपछि शनिबार बेलुकीको समयमा ती महिला र उनीसंग आएका आफन्तहरु शीशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
थापाका अनुसार, प्रसूती गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको छ । किनी रानीघिाट भन्ने टोल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन । अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्याक्ति नै फेला नपरेको थपाले बताए ।
थापाले भने,‘ उनिहरुले योजनाबद्ध रुपमा नै शीशुलाई अस्पतालको बेडमा छाडेर हिँडेको जस्तो देखिन्छ ।’यद्यपि, अस्पतालको सीसी टीभी फुटेज लगायतका आधारमा उनिहरुको खोजी कार्य प्रहरीले गरिरहेको तर आइतबार साँझ सम्म फेला पार्न भने नसकेको थापाले बताए । साभार : मधेश खबर