रौतहट ६ फाल्गुन । रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछिको अवस्था झन् तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रशासनले आईतबार कर्फ्यूको क्षेत्र बढाएको छ । स्थानीय प्रशासनले झडप गर्ने पक्षलाई राखेर साम्य पार्ने प्रयास गरिरहेको छ । त्यस क्षेत्रमा ७ सय सुरक्षाकर्मी परिचालित छन् ।
झडप पछि अवस्था भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले शनिबारदेखि अनिश्चितकालको लागी कर्फ्यू आदेश जारी गरेको हाे ।
झडपपछि अवस्था समान्य हुन नसकेकोले कर्फ्यूको दायरा बढाइएको जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्त प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिईन् ।
गिरीका अनुसार इशनाथ नगरपालिकाको वडा नम्वर ६ र ७ मा कर्फ्यू क्षेत्र तोकिएकोमा आईतबारबाट अर्को सूचना जारी नहुनजेलसम्म वडा नम्वर २, ३, ४ र ५ स्थित पूर्वतर्फ बन्जारा मोड (हनुमान मन्दिर) पश्चिममा सानो घिउरा गाउ, उत्तरमा रामपुर खाप एपिएफ बिओपीदेखि जमिल अख्तरको बोरिङ सम्म र दक्षिणमा एपीएफ बिओपी औरैयादेखी जयनगरसम्म अनिश्चितकाल सम्मको कर्फ्यू आदेश जारी भएको छ । आइतबार पनि झडप भइरहेको छ ।
घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरे पछि झडप सुरु भएको हो । झडपका कारण अहिले सम्म सरस्वतीको मूर्ति सेलाइएको छैन । अहिले त्यस क्षेत्रमा कर्फ्यू लगाइएको छ । घटनास्थलमा नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाहले दुवै पक्षका मानिसलाई छलफलमा बोलाएर साम्य पार्ने प्रयास गरिरहेका छन् । शनिबार साँझ छलफलमा दुवै पक्षबीच सहमति बनेपनि केहीले ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रिएको हो ।साभार:ईकान्तिपुरबाट