वीरगंज ३ फाल्गुन ।वीरगंज महानगर प्रमुखले आफू प्रति नियोजित रुपमा प्रहार भएपनि आफु विचलित नहुने वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । बुधवार वीरगञ्जको होटल पूजनमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले कानुनले दोषी ठहर गरेमा सजाय भोग्न तयार रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष जगदिश प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर सिंहले भने, ‘वीरगञ्ज महानगरमा साढे तीन सयको हाराहारीमा पत्रकारहरू छन् । कुनै चाडवाडमा सहयोग गर्न खोज्दा लिस्ट हेरेरै सहयोग गर्न मन लाग्दैन । पत्रकारको संख्या यति धेरै भएपनि खोजी गर्ने र जनताका आवाज उठाउने भने औँलामा गन्न सकिने मात्रै छन् । तीमध्ये केही पत्रकारहरूको कारण सिङ्गो पत्रकारिता क्षेत्र बदनाम भइरहेको छ ।’ उनले थपे, ‘एउटा आलुले सिङ्गो बोराको आलु कुहाएझैं केही पत्रकारहरूको कारण सिङ्गो पत्रकारिता जगत् बदनाम हुनुभएन । यसको सुधारको लागि अग्रजहरूले पहलकदमी चाल्न आवश्यक छ । पत्रकारहरू आफै न्यायाधीश हुनु उपयुक्त हैन । तथ्यपरक समाचार सम्प्रेषण गरेर कर्तव्य निर्वाह गर्नुपर्छ ।’
वैभवशाली वीरगञ्जको अवधारणाअनुरूप वीरगञ्जलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने मेयर सिंहको योजना छ । सोही लक्ष्यअनुसार २१ महीनाको अवधिमा धेरै कामको सुरुवात गरेको बताउँदै उनले ४८ महीनामा सम्पन्न गर्ने र वीरगञ्जको परिचय फेर्ने जिकिर गरे ।
गोतामे पत्रकारिता स्वर्ण पदक पोखराका पत्रकार बद्रीविनोद प्रतीकलाई प्रदान गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले एक तोलाको स्वर्ण पदक, प्रमाणपत्रसहित सो पुरस्कार प्रदान गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले स्व. गोपाल गोतामेले लेखेको पुस्तक बेचेर जम्मा भएको १० हजार रुपियाँलाई पछिल्लो समय प्रयोगमा ल्याएको र चन्दा सङ्कलन गरी १० हजार रुपियाँबाट वार्षिक पुरस्कार वितरण शुरू गरेको बताए । उक्त १० हजार रुपैयाँ अहिले पाँच वर्षदेखि एक तोला सुनको स्वर्णपदकमा परिणत भएको जानकारी गराए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गर्दै स्व पत्रकार गोपालचन्द्र गौतमको जीवनीबारे बताएका थिए । पत्रकार गौतमको समयमा पत्रकारिता जोखिमपूर्ण रहेको र त्यस बेला पनि स्व.गोतामोले जनमुखी पत्रकारिता गरेर देशभरमा नाम कमाउन सफल भएको झाको भनाई थियो ।