स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो : चिरिबाबु महर्जन

वीरगंज १ फाल्गुन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन्। आज यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने विश्वास व्यक्त गरे।

Advertisement

उनले भने, ‘पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुकै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढ्ने छ भन्ने विश्वास छ, अबको विकास भनेको स्वास्थ्य र शिक्षा नै हो, स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो, विसं २०७२ मा सुरु भएको यो कार्यक्रम सञ्चालन गर्न ढिला हुनपुग्यो ।’

ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ । उनले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेशलाल डङ्गोलले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न मद्दत गर्ने धारणा राखे। उनले बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवामा नगरवासीलाई निराश हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाए।

बीमा बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको जानकारी गराए। उनले स्वास्थ्य बीमा सुरु गर्नुभन्दा गुणस्तरीय सेवा पाउने कुरा महत्वपूर्ण भएको बताए । उनले प्रथम सेवा विन्दुको अभावका कारण काठमाडौँ र ललितपुर महानगरमा यो कार्यक्रम ढिला गरी लागू भएको जानकारी गराए।

ललितपुर महानगरपालिका स्वास्थ्य बीमा सम्पर्क व्यक्ति दाताराम अधिकारीले यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था भएको जानकारी गराए। आपत्तकालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान हुनेछ । साभार स्वास्थ्यखबर.कम

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box