भन्सार क्लियरिङ दलालको अकुत सम्पती

वीरगंज १४ माघ । वीरगंज भन्सार क्लियरिङ दलालको काम गर्ने मनोज राउतले अकुत आर्जनबाट वीरगंजमा मात्रै एक दर्जनभन्दा बढी व्यवसायिक तथा आवासीय भवन जोडेको भेटिएको छ । नेशनल ट्रेडिङदेखि विर्तासम्मको मुख्य सडकमै अकुत आर्जनबाट राउतले ती भवनहरु जोडेको भेटिएको हो ।

Advertisement


भन्सारमा व्यवसायीको सामान जाँचपास गर्न सघाउने क्लियरिङ दलालले वैध रुपमा आर्जन गरेको सम्पत्तिले यति धेरै भवन जोड्नै नसक्ने जानकारहरुको भनाइ छ ।


‘एउटा व्यवसायीको एक पटक सामान जाँचपासमा सहयोग गर्दा क्लियरिङ दलाललाई २ हजारसम्मको पारिश्रमिक मिल्छ, त्यति पारिश्रमिकले कसरी यत्रो सम्राज्य जोड्न सक्छ र’, नाम नबताउने सर्तमा एक जना क्लियरिङ दलाल भने, यो त जाँचपासको नाममा अवैध बाटोबाट अकुत आर्जन गर्नेहरुबाट मात्रै सम्भव हुन्छ ।’ भन्सार क्लियरिङ दलालको काम गर्ने राउतको अकल्पनीय उडान देख्ने जो कोही अचम्मित हुने गरेको छ । भाइको नाममा रहेको एउटा ट्रान्सपोर्ट व्यवसाय र भन्सार क्लियरिङ दलालको कामबाट हुने सिधा आम्दानीले यति धेरै भवन जोड्नै नसक्ने भन्सार क्लियरिङ दलाल काम गर्नेहरु नै बताउँछन् ।


‘अकूत सम्पत्ति आर्जन सोझो काम गर्दा हुनै सक्दैन,’ मनोज जस्तै भन्सार क्लियरिङ दलालको काम गर्ने उनकै एक जना सहकर्मी भन्छन्, ‘भन्सार छली, न्यून मुल्याङ्कन र एउटै प्रज्ञापन पत्रबाट धेरै गाडी पास गराउने नाइके नै मनोज हुन्, अकुत सम्पत्तिको स्रोत नै त्यही हो ।’
क्लियरिङ दलाल राउतले अकुत आर्जनबाट जोडेको सम्पत्तिको फेहरिस्ता लामो छ । वीरगंजमा मात्रै घण्टाघरदेखि बसपार्क जाने बाटो लिंक रोडमा मेरी स्टोप रहेको घर, नेशनल ट्रेडिङको अगाडी रहेको गुप्ता टेन्ट हाउस रहेको घर, मुख्य सडकमै पानीटंकीमा माट्रिका आई फाउण्डेसन रहेको घर, माइस्थान चोक नजिक सामसुङ सोरुम भएको घर, महावीर मन्दिर नजिकै हिमालयन बैंक रहेको घर, आदर्शनगर मुख्य सडकमै मोबाइल सेन्टर रहेको घर, एडभान्स अस्पताल अगाडी अप्टिकल सेन्टर रहेको घर, सोही स्थानमा डा। वीरसिंह थापाको क्लिनिक रहेको घर उनले अकुत आर्जनबाटै जोडेका हुन् ।


यस बाहेकका अन्य भवनहरुमा लगानी गरेको बुझिएको छ । वीरगंजमा मात्रै होइन अन्य शहरमा पनि उनको ठूलो लगानी रहेको उनलाई चिन्नेहरु बताउँछन् । छपकैयाँ १ घर भएका राउतले केही समय अघि मात्रै दुबईमा समेत सम्पत्ति जोडेको स्रोतको दावी छ । नेपालीले यहाँको पैसा तेस्रो मुलुक पुर्याएर सम्पत्ति जोड्न नपाउने प्रावधान छ । तर, राउतले हुण्डी मार्फत पैसा पुर्याएर दुबईमा लगानी गरेको स्रोतले दावी गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box