वीरगन्ज ५ माघ :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस आन्दोलनका सहिदका परिवार र घाइतेको जीवन यापनका लागि तीन वटै तहका सरकारले मिलेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
मधेसी सहिद र घाइतेको सम्मानमा वीरगन्जमा शुक्रबार मधेस प्रदेश सरकारले आयोजना गरेको छैठौं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य समेत रहेका सिंहले यस्तो बताएका हुन् ।
मेयर सिंहले मधेस आन्दोलनका सहिद र घाइतेहरुकै बलिदानी र त्यागका कारण आँफु्सहित मधेसी दलका नेताहरु सत्तामा पुगेकाले उनिहरुको बलिदानी र त्यागलाई कसैलेपनि भुल्न नहुने बताए। उनले भने,‘ मधेस आन्दोलनका सहिद र घाइते योद्धाहरुको बलिदानीका कारण हामीसबै यो ओहोदामा आज पुगेका हौं । त्यसका कारण सहिदका परिवार घाइतेहरुको सहज जीवन यापनका लागि तीनै तहका सरकारले हातेमालो गरेर अगाडी बढ्नु नै पर्छ।’
मेयर सिंहले मधेस आन्दोलका सहिद र घाइतेहरुको सपना अनुसार दल र नेताहरु वास्तवमै हिडेका छन् कि छैनन् ? यसलाई हरेकले मनन् गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षता तथा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको बलिदानी दिवस कार्यक्रमलाई प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जसपाका प्रमुख सचेतक प्रदीप यादव , मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत , अर्थमन्त्री सञ्जय यादव , खेलकुदमन्त्री सुनिता साह , उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव , उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार ,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह , प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री , श्याम पटेल , प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरेका थिए ।