यस्तो छ काठमाडू मेयर बालेनको ‘कोर टिम’

काठमांडु । पूर्वाधारविद्, इन्जिनियर, डाक्टर, पूर्वमन्त्रीदेखि हास्य कलाकारसम्मका सल्लाह लिन्छन् बालेन काम गर्ने शैली र दल तथा तिनका नेताप्रतिको टिप्पणीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सधैँ चर्चामा रहन्छन् । आफूलाई मन नपरेको विषयमा तत्काल प्रतिक्रिया जनाउने र विवादमा परेपछि गल्ती महसुस गर्ने शैलीले उनले सल्लाह लिने कोर टिमबारे नागरिकका आ–आफ्ना बुझाइ छन् । तर, मेयर साहको टिम र उनको काम गर्ने शैली अधिकांशले अनुमान गरेभन्दा फरक छ ।

मेयर साहको कोर टिमका सदस्यमा स्थानीय तहको निर्वाचनमा जो थिए, अहिले पनि लगभग उनीहरूकै बाहुल्य छ । चुनावका वेला सहयोग गर्ने केहीलाई उनले काठमाडौं महानगरपालिकामा नियुक्ति गरेका छन् । उनको टिममा महानगरमा औपचारिक रूपमा नियुक्ति तथा तलब–सुविधा नपाएका व्यक्ति समेटिएका छन् ।

बालेनको कोर टिममा कुमार व्यञ्जनकार (कुमार बेन), प्रा.डा. जगदीशप्रसाद अग्रवाल, डा. विशाल ज्ञवाली, जगतमान श्रेष्ठ, दीपक ज्ञवाली, सुनील लम्साल, अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष साह, सन्तोष गिरी, सुरेन्द्र बजगाईं, धीरज जोशी, नवराज खनाल, सस्मित पोखरेल, हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) र भूपदेव साहलगायत छन् । जसमा अधिवक्ता अर्यालबाहेक अन्य सबै महानगरको नियुक्ति तथा तलब–सुविधा नलिई उनलाई सघाउने सारथि हुन् ।

कुमार व्यञ्जनकार ललितपुर महानगरपालिकामा १० पटकसम्म स्वतन्त्र रूपमा वडाध्यक्षमा विजयी नरसिंह व्यञ्जनकारका छोरा हुन् । उनले चुनावदेखि नै बालेनलाई सघाउँदै आएका छन् । मेयरका हरेक निर्णय तथा योजनामा कुमार बेनकै सल्लाह हुने गरेको छ ।

चिकित्सा शिक्षा आयोगका पूर्वसदस्य डा. अग्रवाल अवैतनिक सल्लाहकार हुन् । उनले महानगरको स्वास्थ्य विभागलाई आवश्यक सल्लाह–सुझाव दिने गर्छन् । डा. ज्ञवाली क्यान्सररोग विशेषज्ञ हुन् । बालेनले उनीसँग स्वास्थ्यका विषयमा सुझाव लिन्छन् ।

पूर्वजलस्रोतमन्त्री ज्ञवाली जलस्रोत तथा खानेपानीविज्ञका रूपमा महानगरका अवैतनिक सल्लाहकार छन् । सुनील लम्साल पूर्वाधारविद् तथा स्ट्रक्चर इन्जिनियर हुन् । उनले इन्जिनियरिङ तथा पूर्वाधारसम्बन्धी कार्यमा सहरी तथा पूर्वाधार विभागलाई सघाउँछन् ।

कोर टिमभित्रकै सन्तोष साह र सन्तोष गिरी फुड सेफ्टी तथा हाइजेनिकसम्बन्धी सल्लाहकार हुन् । साह मास्टर्स सेफसमेत हुन् । गिरी लामो समय फुड सेफ्टीमा काम गरेका व्यक्ति हुन् । सुरेन्द्र बजगाईं मेयर साह र उनले गरेका विषयलाई सञ्चारमाध्यममा ल्याउने भूमिकामा छन् । नवराज खनाल कृषि र स्वास्थ्यसम्बन्धी विज्ञ हुन् । सस्मित पोखरेल र धीरज जोशीले अधिवक्ताका रूपमा मानव अधिकार तथा कानुन शाखालाई सघाउँदै आएका छन् ।

भूपदेव साह बालेनको स्वकीय सचिव हुन् । उनले मेयरसँग भेट्ने आगन्तुकको समय मिलाइदिने, उनका कार्यक्रमको टिपोट राख्ने, मेयरका विषयमा जानकारी दिने र उनका योजनामा प्रत्यक्ष जोडिएर काम गर्दै आएका छन् । कुनै निर्णय लिनुपर्दा बालेनले हास्य कलाकार अर्जुन घिमिरेसँग सल्लाह लिने गर्छन् ।

महानगरको सहरी योजना आयोगका सबै सदस्य मेयरको कोर टिमभित्र पर्छन् । आयोगमा मेयर साहले विषयविज्ञका रूपमा कर्मचारी नियुक्ति गरेका छन् । बालेनको मुख्य टिममा ३० जना हाराहारीमा सदस्य रहेको सचिवालयले जनाएको छ । ‘हामीसँग त्यस्तो आश्चर्यजनक ठूलो टिम होइन, सानो टिम भए पनि परिचालन व्यवस्थित छ । सबैजसो केही न केही क्षेत्रसँग विज्ञ तथा जानकार हुनुहुन्छ,’ बालेनका स्वकीय सचिव भूपदेव भन्छन्, ‘चुनावमा जिम्मेवारी दिएका सबैलाई महानगरमा जिम्मेवारी दिन सकिएको छैन, न त हामीसँग त्यस्तो पार्टी नै छ । सीमित नियुक्ति भएकाले विज्ञ र आवश्यक व्यक्ति छानेर नियुक्ति गरेका छौँ ।’

महानगरको सहरी योजना आयोगमा रहेका सबै कर्मचारी मेयरले नै नियुक्ति गर्न पाउने कानुनी अधिकार छ । योे टिमले महानगरका विभाग तथा योजनामा काम गर्ने गर्छ । आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी, उपनिर्देशक कुमारी राई, विज्ञ सदस्यहरू विनोद न्यौपाने, सुरजराज काफ्ले, बाबुराम भट्टराई छन् ।

सहायक विज्ञमा रजिता शाक्य, शोभना राजभण्डारी, शैलेन्द्र झा, पुरुषोत्तम महत, अग्मा मालाकार, प्रशान्त खरेल, योगिता पन्त, सदीक्षा शाक्य, आनन्द मानन्धर, विवेक बास्तोला, प्रतीक्षा राई, रोहितकृष्ण मानन्धर, प्रतीक श्रेष्ठ र लेखा अधिकृत श्यामप्रसाद न्यौपाने छन् । उनीहरू बालेनका कोर टिमकै सदस्यको हैसियतमा रहन्छन् ।

गत ६ असारमा महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । उनी महानगरको सुविधा नलिने गरी अवैतनिक सल्लाहकारका रूपमा थिइन् । बालेनले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको, सल्लाहकारको सुझाव नमानेको र नगर प्रहरीले पनि उद्दण्ड व्यवहार देखाएकाले आफूलाई त्यहाँ बस्न मन नलागेपछि राजीनामा दिएको उनको भनाइ थियो । तर, महानगरले उनलाई शिक्षा विभागको सल्लाहकार बन्न पुनः ताकेता गरिरहेको छ ।

यस्तो थियो चुनावको कोर टिम
चुनावताका बालेनलाई नेपथ्यमा बसेर थुप्रैले सघाए । चुनावमा उनको टिम सामाजिक सञ्जालबाट बढी परिचालित थियो । उनको कोर टिमबारे धेरै अनभिज्ञ थिए । त्यसवेला उनीसँग ८–१० जनाको कोर टिम थियो । जसमा हाल रास्वपाका नेता गणेश कार्की, कुमार व्यञ्जनकार, कौशल साह, रविन भारती, अधिवक्ता ओमप्रकाश अर्याल, भूपदेव साह, विवेक बास्तोलालगायत थिए ।

यसबाहेक महानगरका ३२ वटै वडामा भोट माग्न खट्ने ४० जनाको टिम थियो । यो टिमले चुनावका वेला घरदैलोको योजना बनाउने, शीर्ष र विशिष्ट व्यक्तिसँग भेटघाट मिलाउने, पर्चा–पम्प्लेट बनाउने, टोलटोलमा चुनावी माहोल तथा चर्चा बुझ्ने, विदेशमा भएकासँग भोट माग्ने, विद्यालय तथा अन्य संघसंस्थाका कार्यक्रममा पुग्ने, बालेनका एजेन्डा तयार पार्नेलगायत गथ्र्यो ।

चुनावताका बालेनले डा. सन्दुक रुइत, महावीर पुनलगायत चर्चित व्यक्तिको साथ लिएका थिए । यसबाहेक शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, यातायात, सहरी विकास, खानेपानी, ढल तथा वातावरणलगायत विषयसँग सम्बन्धित थुप्रै विज्ञको साथ पाएका थिए ।

बालेनले आफ्नो राजनीतिक गुरु नरसिंह व्यञ्जनकार रहेको बताउँदै आएका छन् । ललितपुरमा स्वतन्त्र रूपमा १० पटकसम्म वडाध्यक्षको चुनाव जितेका व्यञ्जनकारसँग प्रभावित भएर बालेन चुनावको केही समयअघि भेट्न पुगेका थिए । उनका छोरा कुमार व्यञ्जनकार बालेनका घनिष्ठ साथी हुन् ।

कुमारका अनुसार चुनावका वेला खटिने टिम सानो थियो । चुनावभन्दा पाँच महिनाअघिदेखि उनको कोर टिम घरघरमा चर्चा र परिचर्चा बुझ्न पुगेको थियो । त्यसलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टाढा राखिएको थियो । ‘चुनावअघि ३० हजार मतदाताकहाँ पुगेका थियौँ, करिब पाँच महिना जनताको घरदैलोमा पुग्दा अब चुनाव जितिन्छ भन्ने सम्भावना भएकाले नै बालेनज्यूले उम्मेदवारी दिनुभएको हो,’ उनले भने, ‘चुनावका वेला हामीलाई कतिले सहयोग गरेका छन् भन्ने अनुमान गर्न पनि कठिन थियो, किनभने समर्थन र सहयोग धेरैको थियो, तर मुख्य काम गर्ने टिम सीमित थियो ।’

अहिले ती सल्लाहकारको शैक्षिक योग्यता र अनुभवमाथि नै शंका गर्न थालिएको छ । ‘मेयर साहले हामीसँग समन्वय नै नगरी सल्लाहकार नियुक्त गरिरहनुभएको छ, काम गर्नलाई सिनियर कर्मचारी पनि छन्,’ ती विभागीय प्रमुखले भने, ‘मेयरले नियुक्ति गरेका सल्लाहकार हाम्रो काममा हस्तक्षेप गर्न आइपुग्छन् ।’ मेयर साहले नियुक्ति गरेका स्वास्थ्य, राजस्व, कानुनी सल्लाहकारले कर्मचारीलाई दबाब दिएपछि यसअघि विवाद पनि भएको थियो ।

काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर हुँदा राजनीतिक व्यक्तिको सचिवालयमा भिड हुन्थ्यो । सेवाग्राहीभन्दा बढी समय पार्टीका कार्यकर्ताले पाउँथे । तर, बालेन आएयता राजनीतिक पार्टीको नाम लिएर भेट्न जानेहरू शून्यप्रायः छन् । बालेनले विगतको योजना, नियम र कार्यलाई निरन्तरता दिने गरेका छन् ।

उनले आफू निर्वाचित भएयता विद्यासुन्दर शाक्यको पालामा पूरा हुन नसकेका केही काम गरेका छन् भने ट्राफिक प्रहरीलाई सिसिटिभी जडानलाई बजेट दिनेलगायत कार्यलाई निरन्तरता दिएका छन् । हाल शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका काम पहिलेकै योजनाअनुसार हो । विद्यासुन्दरको पालामा ०७४ र ०७७ मा बनेका शिक्षा र स्वास्थ्य निर्देशिका, नियमावली र कार्यविधिअनुसार बालेनले निर्णय गर्दै आएका छन् ।

सञ्चारमाध्यमसँग किन नजिक पर्दैनन् बालेन ?
बालेन सञ्चारमाध्यमसँग टाढै बस्न रुचाउँछन् । मिडिया तथा सार्वजनिक कार्यक्रममा धेरै समय दिँदा त्यसको असर आफ्नो काममा पर्ने उनको भनाइ छ । बालेनका सल्लाहकार कुमार व्यञ्जनकारका अनुसार मेयर साह हरेक दिन बिहान पत्रपत्रिका पढ्छन् । सामाजिक सञ्जाल हेर्छन् । महानगरसँग सम्बन्धित समाचार तथा सूचनालाई टिपोटसमेत गर्छन् । ‘मेयरसाप हरेक दिन बिहान पत्रपत्रिका हेर्नुहुन्छ, महानगरसँग सम्बन्धित समाचारलाई बढी चासो दिनुहुन्छ,’ उनले भने, ‘एउटा सञ्चारमाध्यमलाई समय दियो भने अन्य सञ्चारमाध्यमलाई पनि समय दिनुपर्ने भएकाले उहाँले आफ्ना कुरा सामाजिक सञ्जालमा राख्नुहुन्छ । विदेशी तथा स्वदेशी ठूला मिडियामा बोल्ने इच्छा उहाँलाई छैन ।’

कुन विभागमा को सल्लाहकार ?
प्रा.डा. जगदीशप्रसाद अग्रवाल – स्वास्थ्य सल्लाहकार । डा. विशाल ज्ञवाली – स्वास्थ्य विभाग । जगतमान श्रेष्ठ– ट्राफिक व्यवस्थापन । दीपक ज्ञवाली – जलस्रोत तथा खानेपानी । सुनील लम्साल – पूर्वाधार । कुमार व्यञ्जनकार – व्यवस्थापन । अर्जुन घिमिरे – फोहोरमैला व्यवस्थापन । अनुष्का श्रेष्ठ – जनसम्पर्क परामर्शदाता । ओमप्रकाश अर्याल, शंकरप्रसाद पुडासैनी, कुमारी खरेल, दिना श्रेष्ठ र महेशकुमार नेपाल – कानुन । सन्तोष साह, जीवनप्रभा लामा र सन्तोष गिरी – खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रम । सुरेन्द्र बजगार्इं, धीरज जोशी, नवराज खनाल र सस्मित पोखरेल – सचिवालय सल्लाहकार

बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् मेयर साह

मेयर साह बिहान ९–१० बजेसम्म कार्यालय पुगिसक्छन् । बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् । अनावश्यक बाहिरी कार्यक्रममा नहिँड्ने भएकाले पनि उनको धेरै समय कार्यालयमै बित्ने गरेको हो । महानगरका सबै विभाग काठमाडौं प्लाजाको एउटै छानामुनि सरेपछि समन्वय तथा निर्णयमा समेत सहजता भएको छ । यस अवधिमा उनी आफ्नो एजेन्डा तथा निर्णयका सवालमा कर्मचारी, वडाध्यक्ष, विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा बैठक बस्छन् । तर, उनी कर्मचारीसँग नियमित मिटिङ बस्न आवश्यक ठान्दैनन् । उनी साताको एकपटक विभागीय प्रमुखसँग बैठक बस्छन् । यसबाहेक प्रमुख प्रशासकीय अधिकृतले हरेक एसएमटी मिटिङ भनेर आइतबार राख्छन् । बैठकमा विभागीय प्रमुखहरू सहभागी हुन्छन् ।

‘मेयरसापले विभागलाई जिम्मेवार बनाउन विभाग प्रमुखलाई नै आफूअन्तर्गतका कर्मचारीसँग बैठक बस्ने, कामकारबाही व्यवस्थित पार्ने, कार्यान्वयन गर्ने, निर्णय गर्ने जिम्मेवारी दिनुभएको छ । अत्यावश्यक परे मात्रै उहाँ कर्मचारीसँग बैठक बस्नुहुन्छ, अन्यथा उहाँले सामान्य भेटघाटका लागि मात्रै कर्मचारीलाई समय दिनुहुन्न, बरु पढेर र योजनामा काम गरेर बस्नुहुन्छ,’ बालेनका सारथि कुमार व्यञ्जनकारले भने, ‘मेयरसाप एउटा सेलेब्रिटी पनि भएकाले उहाँलाई यत्तिकै भेटौँ, फोटो खिचाऔँ, खादा लगाइदिऊँ भन्नेहरू धेरै आउँछन् । तर, उहाँ त्यसरी समय खेर फाल्न खोज्नुहुन्न । विशेष काम, योजना र निर्णय बोकेर आएका व्यक्तिलाई भेट्नुहुन्छ । उहाँले पक्षपाती व्यवहार गर्नुभएको छैन ।’

बालेनलाई दैनिक भेट्न आउनेको संख्या दुई सयभन्दा धेरै हुन्छ । चुनाव जितेलगत्तै आफूलाई खादा, माला, टीकालगायत सम्मान दिन नआउनु भनी अनुरोध गरेका उनले त्यसलाई हालसम्म पनि कायम राखेका छन् । उनी अनावश्यक व्यक्तिलाई भेट्दैनन् । फोटो खिच्न, दोसल्ला ओढाउन, फूलको गुच्छा दिन आएकालाई फर्काइदिने गरेका छन् । तर, कंक्रिट योजना बोकेर आउने विज्ञ, कूटनीतिक व्यक्तिलगायतलाई भने भेट दिन्छन् । पछिल्ला दिनमा उनले दैनिक ८–१० जनासँग भेट गर्छन् । साभार नया पत्रिका.कम

Facebook Comments Box

समन्धित समाचार