वीरगन्ज २९ पुष । इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएर मारेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको मुद्दामा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ।
जिल्ला अदालत रौतहटमा दुई जना न्यायाधीश मात्रै उपस्थित भएपछि उक्त मुद्दाको पेशी स्थगित भएको हो। आइतबार पेशी तोकिएकोमा न्यायाधीशहरु नहुँदा स्थगित भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए। अब उक्त मुद्दामा अर्को पेशी तोकिने उनले बताए।
सात जना न्यायाधीश रहेको जिल्ला अदालत रौतहटमा आइतबार तेजबहादुर खडका र गेहेन्द्रराज पन्त मात्रै उपस्थित भएका थिए। आलमसहित पाँच जनाविरुद्ध परेको मुद्दामा दुवैतर्फका वकिलले बहस नोट अदालतमा पेश गरिसकेकाले आज चढ्ने पेशीमा मुद्दाको अन्तिम फैसला आउने सम्भावना थियो।
यसअघि उक्त मुद्दामा बहस नोट समयमा पेश नभएकोले पेशी चढ्नमा ढिलाइ हुँदै आएको थियो। जिल्ला अदालतमा आलमविरुद्ध विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा दर्ता छ।
२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।
विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपूतले आलमसहितलाई प्रतिवादी बनाएर २०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरमा मुद्दा दर्ता गराएका थिए।साभार:देशसञ्चारबाट