वीरगंज पौष २९ गते ।वीरगंज, पर्सा ।फर्जी नागरिकताधारीको पहिचान गरी कारवाहि गर्न अधिकार सम्पन्न सशक्त छानविन समिति गठनको माग गर्दै वीरगंजमा आज ज्ञापन पत्र बुझाईएको छ । राष्ट्रिय बजरंग दल र नेपाल विश्वहिन्दु महासंघले संयुक्त रुपमा उपप्रधान तथा गृह मन्त्रीलाई सम्बोधन गरेर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत ज्ञापन पत्र बुझाएको हो ।
फर्जी नागरिकता लिएकाहरुको कारण नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा चुनौति सृजना भएको, अन्तर सिमा आतंकबाद बढेको, हत्या, हिंसा र धार्मिक द्वन्द्व बढेकोले सो को नियन्त्रणको लागि फर्जी नागरिकता उपर छानविन र कारवाहिको लागि अधिकार सम्पन्न सशक्त छानविन समिति गठनको माग गरिएको हो । नेपालमा नागरिकता ऐन २०६३ लागु भए पश्चात् कानूनमा भएका नरम व्यवस्थालाई आधार बनाएर र अन्य समयमा समेत झुटा विवरण र मुचुल्काको आधारमा विदेशीहरुले नेपाली नागरिकता प्राप्त गरेकोले कारवाहिको माग गरिएको हो ।
गलत व्यहोरा उल्लेख गरी, गलत सहर्जमिन मुचुल्का खडा गरी राज्यलाई झुक्याई गैर नागरिकलाई नागरिकता प्रदान गर्ने राजनैतिक कार्यकर्ता वा अपराधिक मनोवृत्तिको व्यक्ति उपर कारवाही गर्न माननीय गृहमन्त्रीज्यू सँग विनम्र अनुरोध गर्दछौँ, ज्ञापन पत्रमा भनिएको छ । नागरिकता ऐन, २०६३ को रोकथामको व्यवस्था गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोले गृहमन्त्रीलाई निवेदन दिईएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाल प्रहरीको “प्रहरी मेरो साथी” अभियान वीरगंजबाट शुरु भई देशभर प्रख्यात रहेकोले फर्जी नागरिकता उपरको छानविन तथा कारवाहि पनी पर्सा जिल्लाबाट शु्रु गरी देशभर सञ्चालन गर्न गृहमन्त्री सँग जोडदार माग गरिएको छ । ज्ञापन पत्रमा गलत सहर्जमिनको आधारमा विवादास्पद नागरिकता प्राप्त गर्ने र गर्न सहयोग गर्ने व्यक्ति उपर छानविन गरी गैर नागरिक तथा तिनका संरक्षक उपर कठोर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय र नेपाल प्रहरीको प्रतिनिधी सम्मिलित डेक्स खडा गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई उपयुक्त निर्देशन जारी गर्न समेत माग गरिएको छ ।
राष्ट्रिय बजरंग दलका अध्यक्ष नितेश पटेल, नेपाल विश्व हिन्दु महासंघका अध्यक्ष श्रीनन्दन भारद्वाज, जगत गूरु राजेन्द्रानन्द स्वामी जी, रामअयोध्या महतो, हरि किशोर मिश्र ,सुनिल महतो लगाएतको समुहले वीरगंजको घण्टाघरबाट याली निकाली नाराबाजी सहित प्रमुख जिल्ला अधिकारी मार्फत उपप्रधान तथा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।