पर्सा २६ पौष । वीरगन्जस्थित नेपाल-भारत सीमा रहेको हेल्थ डेस्कमा बुधबार एक भारतीय नागरिकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको छ । डेस्क प्रमुख तथा वीरगन्ज महानगरपालिकाको कार्यालयका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरका अनुसार भारतको कोलकाताबाट नेपाल भ्रमणमा आएका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
‘उनको समूहमा १ दर्जन भारतीय पर्यटक थिए, काठमाडौं घुम्न जाने तयारी रहेको उक्त समूहका सबैको रेपिड टेष्ट गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो,’ ठाकुरले भने, ‘नेपाल प्रहरीको समन्वयमा भारतबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार नै ती युवकलाई भारत लगेको छ ।’
भारतीय पर्यटकको यो टोली कोलकाताबाट रेल चढेर रक्सौलसम्म आएको थियो । टोलीलाई नेपालको एक ट्राभल एन्ड टुर कम्पनीले वीरगन्जबाट सिधै आफ्नो गाडी चढाएर काठमाडौं लाने तयारी गरिरहेको थियो । वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको हेल्थ डेस्कमा चालु आर्थिक वर्षमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना भएको ठाकुरले बताए ।
भारतमा जेएन.१ को संक्रमण फैलिँदै गए यता डेस्कमा सतर्कता अपनाइएको र दैनिकजसो ५० देखि ६० जनाको कोरोना परीक्षण गर्ने गरिएको ठाकुरले बताए । ‘दैनिक ठूलो संख्यामा भारतीयहरु नेपाल आउजाउ गर्छन्, सबैको परीक्षण सम्भव छैन,’ ठाकुरले भने, ‘तर दिल्ली, कोलकाता तथा दक्षिण भारतका विभिन्न सहरहरुबाट नेपाल आउने पर्यटकहरुको पनि परीक्षण गर्ने हरसम्भव प्रयास गरिरहेका छौं ।’ सभार : कान्तिपुर