बाराको पचरौतामा महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच झडप, ८ राउन्ड हवाई फायर

बारा ५ मंसिर । महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई भएको झडप नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् ।

Advertisement

पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर सोमबार दिउँसो बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा वाद–विवाद भई ढुङ्गामुढा हानाहान तथा झडप भएपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो ।

हनुमानजीको मङ्गलवार महाबिरी झन्डा मेला लाग्नु अघि सोमबार रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ, सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

बह्मबाबाको पुजा को समय सोमबार राती करिब १० बजेदेखि १२ बजेको समयमा भएको ढुङ्गामुढा हानाहानबाट सोही टोलका ४० बर्से लक्ष्मी पटेलको टाउको फुटेको र ४२ वर्षे चण्डीका पटेलको खुट्टा भाँच्चिएको उहाँले जानकारी दिनुभयो । घाइते दुवै जनको एस.एल.न्युरो अस्पताल परानीपुरमा उपचार भइरहेको छ ।

दुवै समूहले सोही ठाउँमा अलग–अलग मेला लगाउन अडान लिएपछि अर्को कुनै अप्रिय घटना हुन नदिन सो ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रूपमा रातीदेखि नै खटाइएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनु भयो ।

परापूर्वकालदेखि सो ठाउँमा पञ्चायतका मुखियाले मेला लगाउँदै आएको थियो, त्यसपछि गा.वि.स.अध्यक्षले मेलाको नेतृत्व गर्दै आएका थिए, सङ्घीयता आइसकेपछि नगरपालिकाको वडा अध्यक्षले मेलाको नेतृत्व गरेको थियो, अब मेरो पक्षका वडाध्यक्षले सोही मेलाको नेतृत्व गर्न खोजेपछि विपक्षी दलका व्यक्तिले विरोध गर्दै विभिन्न प्रपञ्च रच्दै आएको पचरौता नगरपालिकाको नगरप्रमुख जलान्धर सिंहले जानकारी दिनुभयो । Gorkhapatra

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box