छोरीको हत्यारालाई जेल पुर्याइदेऊ भन्दै व्रत बसेकी छु, देवीले सुन्छिन् कि भन्ने आशा छ’
दाइजोको निहुँमा आरतीले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै १५८ दिनदेखि आमा धर्नामा
काठमाडौँ — अघिल्ला वर्षमा उनी यतिबेला छोराछोरीको सुखको कामना गर्दै छठको व्रत बस्ने गर्थिन् । छठी माईसँग परिवारको दुःखकष्ट हटोस् भन्ने कामना गर्थिन् । धनुषाकी निर्मला साह यस वर्ष भने तिनै सन्तानको न्यायका लागि भन्दै धर्नास्थलमा छिन् । दाइजोको निहुँमा छोरी आरतीले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै धर्नामा रहेकी उनले त्यही मनोकांक्षा राखेर छठको व्रत पनि बसेकी छन् ।
छोरी आरतीको हत्या भएको भन्दै विरोधमा उनको परिवार न्याय माग्दै माइतीघर मण्डलमा १ सय ५८ दिनदेखि धर्नामा छ । सडकमै छठ पर्व मनाएका आरतीका परिवारको माग अझै पूरा भएको छैन । ‘छोरीको हत्यारालाई जेल पुर्याऊ छठी माई भन्दै व्रत बसेकी छु,’ निर्मला भन्छिन्, ‘देवीले सुन्छिन् कि भन्ने आशा छ ।’ माइतीघर मण्डलको चिसो भुइँमा दिनरात काट्दै आएकी उनीसँग छठी माईलाई पुज्ने सामग्री छैन । छ त केवल मनभरि आस्था र पीडा । उनी तीन दिनदेखि व्रत बसेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीका माइती पक्ष न्यायको आसमा असोज १ देखि धर्ना छन् । गत जेठ ६ मा दाइजोको निहुँमा आरतीको हत्या भएको माइतीपक्षको आरोप छ । स्नातक दोस्रो वर्ष पढ्दापढ्दै बिहे पछि पनि पढाउने सर्तमा उनको मोतीबाबुसँग बिहे भएको थियो । बिहे गर्नुअघि दाइजोको मागअनुसार आरतीका बुबा विनोदले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिए । केटा पक्षले लगाउने लुगादेखि गरगहनासम्मको खर्च आरतीकै बुबाआमाले बेहोरेको बताउँछन् ।
घटनापछि जेठ ८ मा आरतीको माइती पक्ष उजुरी गर्न धनुषा प्रहरी प्रशासनमा पुगेको थियो । तर, प्रहरीले उजुरी लिन अस्वीकार गरेपछि उनीहरू काठमाडौं माइतीघर मण्डलमा धर्ना बस्न आए । धर्नापछि प्रहरीले आरतीका ससुरा मदन मोहन र पति मोतीबाबुविरुद्ध जाहेरी दर्ता गरेको थियो ।
उनीहरूलाई धनुषा जिल्ला अदालतले थुनछेकको आदेश दिएको थियो । उक्त आदेश बदर गरिपाउँ भनी पीडक पक्षले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएपछि अदालतले पनि आरोपित दुवैलाई साधारण तारिखमा छोडिदियो । त्यसपछि पीडित पक्षका तर्फबाट उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा असोज २६ मा मुद्दा दायर भएको छ । मंसिर ६ बुधबार मुद्दाको पेसी तोकिएको छ । पीडित परिवारले सासू रेणु र देवर रविसमेतलाई पक्राउ गर्न प्रहरीसमक्ष उजुरी दिँदासमेत कुनै प्रक्रिया नबढाइएको बताएका छन् । अझ मुख्य आरोपित आरतीका श्रीमान् र ससुरालाई उच्च अदालतले साधारण तारिखमा छोडेपछि झन् पीडामा रहेको पीडित पक्षले जनाएको छ ।
गृह मन्त्रालयले गत कात्तिक २० मा आरतीका परिवारलाई वार्तामा बोलाएको थियो । वार्तामा सहभागी भएका पीडित परिवारले ७ बुँदे मागसहित पत्र बुझाएका थिए । जसमा आरती साहको हत्यारालाई थुनामा पठाउनुपर्ने, पीडित परिवारलाई यातना दिने धनुषाका प्रहरीलाई निलम्बन गर्ने, न्यायिक छानबिन समिति गठन गर्ने, माइतीघरको धर्नास्थलमा भएका सांघातिक आक्रमण तथा अनुचित पक्राउ तथा यातनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पोस्टमार्टम गलत बनाउने चिकित्सकमाथि कारबाही गर्नुपर्ने, जाहेरी दर्तामा निरुत्साहित गर्ने सरकारी वकिललाई कारबाही गर्नुपर्ने र लामो समय धर्ना बसेका पीडित परिवारमा शारीरिक अस्वस्थता र आर्थिक क्षति भएकाले क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग छन् ।
मन्त्रालयमा छलफल गरेर छिट्टै समस्याको सम्बोधन गरिने भनिए पनि अहिलेसम्म कुनै जानकारी नआएको आरतीका मामा सन्तोष साहले बताएका छन् । ‘धर्नामा बस्दाबस्दै बिरामी भइसकियो, न्याय पाउन ढिला भयो,’ उनले भने । साभार ekantipur.com