वीरगञ्ज । वीरगंजमा मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।
वीरगंजको आदर्शनगरस्थित “स्काइलाइन” बहुउद्देश्यीय मलमा नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको हो ।
काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।
मल्टिप्लेक्स सिनेमा हलको बिहीबार प्रतिनिधिसभा सदस्य प्रदीप यादबले उद्घाटन गर्नुभएसँगै औपचारिक रुपमा संचालनमा आएको हो ।
पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका सांसद यादबले सुस्ताएको वीरगञ्ज बजारमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुबिधा सम्पन्न मल्टिप्लेक्सको सुबिधा लिन काठमाण्डौ नै पुग्नु पर्ने बाध्यता अब हटेको भन्दै उहाँले वीरगंजवासीले आफ्नै स्थानमा त्यो सुबिधा उपभोग गर्न पाउनु खुसीको कुरा भएको बताउनु भयो ।
![](https://emadesh.com/wp-content/uploads/2023/11/inbound5031437395533268131-1024x771.jpg)
बिहीबारदेखि संचालनमा ल्याइएको मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।
सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगञ्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।