वीरगन्ज,१५ कार्तिक । वीरगन्जको नारायणी अस्पतालमा एमआरआई मेसीन जडान गरिएको करिब ६ महिनापछि मात्रै एमआरआई सेवा सञ्चालनमा आएको छ ।
नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपैयाँमा खरिद गरि एमआरआई मेसिन ल्याएको थियो । तर प्राविधीक कारणवश उक्त मेसीन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेरपनि प्रयोगविहिन अवस्थामा राखिएको थियो ।गत असोज १३ गते अस्पतालको १ सय ३१ औं स्थापना दिवसमा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले एमआरआई मेसीनको उद्घाटनपनि गरेका थिए । तर प्राविधीक कारणले उक्त मेसीन अस्पतालले सञ्चालनमा भने सकेको थिएन।
मंगलबारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलोपटक एमआरआई सेवा सुरु गरिएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए ।पहिलोदिन दुई जना बिरामीको एमआरआई गरिएको जानकारी उनले दिए ।
नारायणी अस्पतालमा जडान गरि सञ्चालनमा ल्याइएको एमआरआई मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७६ च्यानल र थ्री टेस्लाको रहेको उनले बताए । आन्तरिक परिक्षण र विशेषज्ञको टोलीले विशेष तालिम लिएपश्चात मंगलबारदेखि एमआरआई मेसिन पुर्ण रूपमा सञ्चालनमा आएको उनले बताए ।
डाक्टर सिंहले भने,‘ विगतमा पावर ब्याक अपको समस्या र केहि प्राबिधिक कारणले गर्दा मेसिन जडान गरेरपनि सञ्चालनमा ल्याउन सकेका थिएनौं । जसका कारण अनेक आलोचनापनि भएको थियो ।
एमाआरआई मेसिन चलाउनका लागि आवश्यक विद्युतीय उर्जा अस्पतालमा नहुदाँ भाडामा ५०० केभिएको जेनेरेटर ल्याएर एमआरआई सेवा सुरु गर्नु परेको उनले बताए । उनले भने,‘अस्पतालमा २०० केभिएको मात्र जेनेरेटर थियो । तर एमआरआई मेसिन चलाउन ५०० केभिएको जेनेरेटर चाहिन्छ तर त्यो अस्पतालमा उपलब्ध थिएन । त्यसैले भाडामा ५०० केभिएको जेनेरेटर ल्याएर एमआरआई मेसिन चलाएका हौं ।
अस्पतालका सुचना अधिकारी डाक्टर सिंहले अहिले भाडामा जेनेरेटर ल्याएर तत्कालका लागि काम चलाइएपनि अस्पताल आफैंले ५ सय केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसंग बजेटको माग गरिसकेको जानकारीपनि गराए ।
सिंहका अनुसार, बजेटका लागि अस्पताल प्रशासनले संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा गत साउनमै पत्रचार गरिसकेको छ । सिंह भन्छन्,‘ सधैंंभरि भाडाको जेनेरेटरले चलाउने अवस्था रहन सक्दैन , त्सका कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौं ।
डाक्टर सिंहका अनुसार, नारायणी अस्पतालमा सुरु गरिएको एमआरआई सेवाको शु्ल्क बजारका नीजी अस्पतालका भन्दा निक्कै सस्तोपनि छ । उनले भने,‘ नीजी अस्प्तालमा एमआरआई गर्दा १२ देखि १५ हजार रुपैयाँ शुल्क लाग्छ । तर हामीले अस्पतालमा यो सेवाको शुल्क ८ हजार रुपैयाँमात्रै तोकेका छौं।’ यसले विशेष गरी गरिब तथा विपन्न बिरामीलाई ठूलो राहत पुग्ने उनले बताए ।
यसअघि अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुदाँ बिरामीलाई बाहिरका नीजी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यो बाध्यताको अन्त्य भएकोपनि उनले बताए । दैनिक ८ देखि १० जना बिरामीको एमआरआई गर्न सकिनेपनि उनले जानकारी दिए।
मधेस प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।पर्सा, बारा, रौतहट , सर्लाही , महोतरीका साथै मकवानपुर तथा छिमेकी मुलुक भारतको बिहारबाटपनि बिरामीहरु उपचारकालागि अस्पतालमा आउने गरेको डाक्टर सिंहले बताए ।