नेपालगन्ज ८ कार्तिक । दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसँैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
उहाँले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा आज राति ८ बजेसम्मका (मूर्ति विसर्जनको कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरुबाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।
नेपालगञ्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसंग भइरहेको छ । नेपालगञ्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरहरुसहितको धार्मिक ¥याली भइरहेको निस्किएको छ ।
मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरिक्षक सुभाषचन्द्र बोहराले बताउनुभयो ।
यसैगरी सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा पूर्व तयारीका लागि उद्धार टोली खटिएका छन् । दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय ठाउँहरुमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटनाहरु घटिरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो । रासस