वीरगंज । मदेश प्रदेशको राजधानी जनकपुरधाम मा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्रपाणी पाण्डेले धनुषामा कुनै पनि ठाउँमा साँस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम गर्ने अनुमति नदिएको बताएका छन् ।
दुर्गा पूजाको अवसरमा धनुषाको विभिन्न स्थानमा ओरकेष्ट्रा, महिला नर्तकी नचाउने, टिकटोकर नचाउने कार्यक्रमहरु आयोजनाको प्रचार प्रसार भएको बेला न्यूज ब्यूरोको जिज्ञासामा सिडिओ पाण्डेले तराई मधेशको सँस्कृतिमा आधारित साँस्कृति गायक र नृत्य मात्र गर्ने गरी अनुमति दिएको बताए ।
धनुषाको सबैला र लगमा बजारमा महिला नर्तकी नचाउने कार्यक्रमको सन्दर्भमा आयोजकले स्थानीय प्रहरीलाई अनुमति देखाएको सन्दर्भमा सिडिओ पाण्डेले मात्र साँस्कृतिक कार्यक्रमको लागि अनुमति दिएको बताए । उनले भने, –“साँस्कृतिक कार्यक्रमको अनुमति दिएका हौँ कुनै कुनै ठाउँमा, तर त्यस्तो गरिएन वा फरक भए नर्तकी टोलीसहित आयोजक समितिलाई पनि पक्राउ गरिनेछ । हामीले १५ दिन अगाडीदेखि नै यस्ता कार्यक्रमहरु नगर्न नगराउन सूचना प्रवाह गरेपनि प्रशासनसँग छल गर्नेलाई पक्राउ गरी कारवाही गरिनेछ । कार्यक्रम त्यसै बखत रोकिनेछ ।”
साँस्कृति कार्यक्रमको सन्दर्भमा सिडिओ पाण्डेले यहाँ चलिआएको सँस्कृति अनुसारको नाचगान, धार्मिकता झल्काउने नाचगान मात्र गर्न पाउने बताए । उनले मैथिली, भोजपुरी, नेपाली वा हिन्दी भाषाकै गीत भएपनि अश्लिल शब्द, दोहोरो अर्थको गीतमा नाचगान भए प्रहरीले तुरुन्त रोकाउनेछ र आयोजकलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले साँस्कृति कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रममा कुनै पनि सुरक्षा नदिने जनाएका छन् । उनले धर्म सँस्कृति विरुद्धको नाचगानको लागि प्रहरीले नै सुरक्षा दिन थालेपछि प्रहरीको गरिमामाथि प्रश्न उठेको बताउँदै सुरक्षा दिन नसक्ने आयोजकलाई समेत जवाफ दिएको बताए ।
यता, सबैलामा पनि आयोजन गरिएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय सबैलाले सुरक्षा नदिने भनेपछि कार्यक्रम नुहने सँकेत देखिएको हो । साभार वीरगंज एक्सप्रेस