हेटौँडा १५ असोज । आपतका बेला सहारा बन्नुपर्ने प्रहरी कर्मचारीको गैरजिम्मेवारीपूर्ण भूमिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमै एक बिरामी महिलाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका वडा नम्बर १ की ५६ वर्षीया चिरमाया लोको जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमै मृत्यु भएको हो । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट उपचार हुन नसक्ने भनी डिस्चार्ज गरिएकी बिरामी महिलाको घर पुग्ने अन्तिम ईच्छासमेत पूरा भएन ।
उनलाई बोकेर हेटौँडा आएको ना २ च ८४३२ नम्बरको एम्बुलेन्सलाई सोमबार राति १२ बजे हेटौँडा-४ रानीदरबार अगाडि रोकेर प्रहरी सहायक निरीक्षक डिल्लीराम शिवाकोटीले बिरामीका आफन्तसँग विवाद गरे । एम्बुलेन्सबाट ओर्लेर उनलाई लिन आएको गाउँकै टाटासुमो चढ्ने क्रममा प्रहरी सहायक निरिक्षकसँग बिरामीका आफन्तबीच विवाद भयो ।
विवादका क्रममा सामान्य झडप हुँदा प्रहरी सहायक निरीक्षक शिवाकोटी घाइते भए । प्रहरीले बिरामीसहित एम्बुलेन्स र एम्बुलेन्समा रहेका बिरामीका आफन्तलाई नियन्त्रणमा लियो । आफन्तलाई नछाडेसम्म घर जान्न भनी बिरामी घर जान नमान्दा उनको प्रहरी कार्यालय परिसरमै दुःखद मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाए । मध्यरातमा मदिरा सेवन गरेर आएका प्रहरी कर्मचारीले बिरामी देख्दादेख्दै हतियार नै निकालेपछि प्रहरीसँग बिरामीका आफन्तको विवाद भएको मृतक महिलाका छोरा लालबहादुर वाइबाको भनाइ छ ।
बिरामी बोकेको एम्बुलेन्स नै प्रहरीले नियन्त्रणमा लिँदा बिरामी महिलाको मृत्यु भएको पीडित आफन्तले बताए । अक्सिजनको सहारामा घर लैजाँदै गरेको बिरामी देख्दादेख्दै प्रहरीले सहयोग गर्नु पर्नेमा दुःख दिएको मृतक महिलाका आफन्तको गुनासो छ ।
मृतक महिलाका छोरा ज्वाईसमेत गरी पाँच जना अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा छन् । घटनामा घाइते भएका प्रहरी सहायक निरीक्षक सिवाकोटको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिरामी महिलाको मृत्युपछि घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक भण्डारीले जनाए ।