नेपालगन्ज १५ असोज । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ । प्रहरीले नेपालगञ्जको बीपी चोकमा ११ राउन्ड हवाई फायर गरेको हो ।
यसअघि प्रशासनले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।
मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो । आइतबार मुस्लिम समुदायले निकालेको र्यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो ।
ओमकार परिवारले निकालेको र्याली बीपी चोकबाट त्रिभुवन चोकतर्फ जाने क्रममा भित्री बाटोमा घरको छत- छतबाट र्यालीमाथि ढुङ्गा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको हो । सोही तनावका बीच स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको हो ।
झडपका क्रममा केही व्यक्तिहरू घाइते भएका छन् । घाइतेहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै केही घाइतेको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।