काठमाण्डाैं ३० भदाैं । नेपाल चिकित्सक संघले आइतबार वीरगन्जको नारायणी अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।
हेटौँडामा डाक्टरहरु कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै संघले आइतबार नारायणी अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने घाेषणा गरेकाे हाे ।
भोलि आइतबार देशभरका सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।
गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका उपाध्यक्ष डाक्टर निरज सिंहले ले बताए ।
उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।