जनकपुरधाम ६ भाद्र । जनकपुरधामका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले साे माग गरेका हुन् । उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
केही दिनअघि कोशी प्रदेशस्थित धरानमा केही व्यक्तिहरुले गाई/गोरु काटेर सामूहिक भोजको आयोजना गरेको घटना बाहिरिएको थियो । जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाई/गोरु काटेर मासु खानेलाई सरकारले कानुन बमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिए । उनले कारबाही नगरे साधु सन्तहरु चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए ।
वैष्णवले भने, ’नेपालमा गाईलाई मातासरह पुजिन्छ । हामी साधुसन्तसहित हिन्दु समाजले गाई/गोरुलाई माता मानेर पूजा गर्छौ । तर धरानमा केही व्यक्तिहरूले गाई/गोरुलाई काटेर सामूहिक भोज गरे । यसरी गाई÷गोरु काटेर मासु खानेहरुलाई सरकारले कारबाही नगरे अब हामी साधुसन्त समाज र जनकपुरवासी चुप्प बस्नेवाला छैनौ । हामी आन्दोलनमा उत्रनेछौँ र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ ।’
उनले गाई गोरु काट्नेहरु अपराधी भएको समेत बताए । ‘नेपालका विभिन्न ठाउँमा हिन्दु धर्म प्रतिको ठाँडो हस्तक्षेप स्वरूप गाईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरूलाई कानुनी कारबाहीको लागि माग गर्दछु,’ उनले भने ।