वीरगञ्ज नेपाल औषधी तथा विक्री प्रतिनिधि संघको ५५ औँ स्थापना दिवसका अवसरमा वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ पोका रक्त संकलन भएको छ ।
२ जना महिला सहित १०५ जनाले रक्तदान गरेका हुन् ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुले रक्तदान गर्ने बारे गाउँगाउँ सम्म चेतना जागृत गराउने काम गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले पनि अस्पतालहरुमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले वीरगञ्ज व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि संघसंग हातेमालो गरेर आफूहरु अघि बढ्न तयार रहेको बताउनुभयो ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष राम गोसाईको सभापतित्वमा सम्पन्न भएको हो ।