काठमाडौंका अस्थायी कर्मचारी र नगर प्रहरीलाई ‘गोल्डेन ह्यान्डसेक’

काठमाडौं । काठमाडौं महानगरपालिकाले अस्थायी कर्मचारी र स्थायी पदमा कार्यरत नगर प्रहरीलाई स्वेच्छिक अवकास सुविधा दिने भएको छ । ‘गोल्डेन ह्यान्डसेक’सहित महानगरपालिकाले कर्मचारीहरुलाई स्वेच्छिक अवकासमा पठाउन लागेको हो ।

Advertisement

महानगरका २०६३ सालदेखिका अस्थायी कर्मचारीहरु राख्न थालिएको थियो । यसअघिको स्थानीय स्वायत्त शासन नियमावलीले समिति प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था थियो । त्यसैअनुसार अस्थायीहरु आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पनि हुने गरेका थिए ।

तर, २०७४मा स्थानीय सरकार सञ्चालन ऐन आएपछि सो नियमावलीको कानुनी अस्तित्व समाप्त भएको थियो । यसका कारण अस्थायी सेवामा रहेकाहरु स्थायी हुने प्रक्रियामा जान पाएनन् ।

आफ्नो कानुनी अधिकार हनन भएको भन्दै अस्थायी कर्मचारीहरु सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्चको संवैधानिक इजलासले सीमति प्रतिस्पर्धाबाट स्थायी हुने अधिकार नखोस्न भन्दै फैसला गरेपछि महानगरपालिका अन्योलमा परेको थियो ।

‘अस्थायी कर्मचारीलाई स्थायी गर्न कानुनी आधार र पदपूर्ति समिति भएनन्,’ महानगरका एक अधिकारीले भने,‘हामीले के गर्न सकिन्छ भनेर कानुनी प्रक्रिया अघि बढाएका छौं, प्रदेश सरकारसँग कार्यविधि बनाएर सहमतिका लिनका लागि प्रक्रिया अघि बढाएका छौं ।’

तर, कतिपय अस्थायी कर्मचारीले लिखित रुपमा ‘गोल्डेन ह्यान्डसेक’सहित अवकास दिन निवेदन दिएका छन् । विशेषगरी महागरपालिकाले मेट्रो एफएमसहित सञ्चारमाध्यम र टेलिभिजन कार्यक्रमका कर्मचारीले यस्तो प्रस्ताव गरेपछि महानगरपालिकाले अस्थायी रुपमा कार्यरतहरुलाई यस्तो सुविधा दिन तयारी अघि बढाएको हो ।यसअघि पनि एकपटक यस्तै मौका दिएकाले फेरि एकपटक ‘गोल्डेन ह्यान्डसेक’सहित पुराना अस्थायी कर्मचारीहरुलाई विदा गर्ने नीतिगत निर्णय भएको हो ।

‘एउटा निश्चित समय तोकेर एउटा अफरसहित अवकासको आवेदन माग गर्छौं,’ महानगरपालिका स्रोतले भन्यो,‘जो–जसले निवेदन दिनुहुन्छ उहाँहरुलाई अवकासमा पठाउँछौं ।’

महानगरपालिकाले स्थायी पदमा बहाल रहेका नगर प्रहरीलाई पनि यस्तो अफर गर्न तयारी अघि बढाएको छ । कतिपय ५० वर्ष नाघिसेका नगर प्रहरीहरु स्वेच्छिक अवकास लिन तयार रहेकाले नगरप्रहरीको कार्यसम्पादन चुस्त बनाउन भन्दै यस्तो अफर गर्न लागेको हो ।

कतिपय पुराना नगर प्रहरीहरु बिरामी छन् भने कतिपयमा दीर्घरोगी समेत छ । यसका कारण आकर्षक गोल्डेन ह्यान्डसेक दिएर विदा गर्ने तयारी अघि बढाइएको हो ।

‘पहिले नेता र कर्मचारीहरुले भर्ति गरेका आसेपासेहरुलाई विदा गरेर सक्षम, जाझारु र युवा जनशक्तिलाई स्थान दिने योजना छ,’ महानगरपालिका एक अधिकारीले भने,‘त, हामीले अवकासका लागि लक्षित गरेका अल्छी, कामचोरहरु संस्थाभित्र बस्ने र राम्रा मान्छेहरु बाहिरिने हुन्छ कि भन्ने डर पनि छ ।’ कतिपय अस्थायी कर्मचारीको पनि कार्यसम्पादन राम्रो रहेको उनको भनाइ छ ।

ठूलो संख्यामा रहेका अस्थायी कर्मचारीहरु कारण चालु खर्च बढेपनि नतिजा नआएको निष्कर्ष निकाल्दै महानगरपालिकाले यस्तो नीति दिलएको हो । नगरप्रहरी समेत महानगरपालिकाले सेवा करारका आधारमा लिन थालेकोले दीर्घकालीन आर्थिक दायित्व घटाउन महानगरले अवकासमा प्रोत्साहन दिन लागेको हो हो ।

पहिलो र दोस्रो चरणका योजनाहरु सफल भएमा सफाइ लगायतका क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि यस्तो योजना ल्याउने योजना छ । महानगरपालिकाले गोल्डेन ह्यान्डसेकमा केका आधारमा कतिसम्म नगद दिने भन्ने निर्णय लिएको छैन ।

कर्मचारीले काम गरेको अवधिको गणना गरेर प्रतिवर्ष निश्चित महिनाको तलबबराबरको पैसा दिने, बाँकी सेवा अवधिको गणना गरेर त्यसका आधारमा निश्चित पैसा दिने, एकमुष्ठ निश्चत पैसा दिने लगायतका विकल्पहरु छन् । महानगरको सुशासन समितिले यसबारे निर्णय गर्नुपर्छ ।

‘गोल्डेन ह्यानडसेक दिने पक्का भइसक्यो,’ स्रोत भन्छ,‘छिट्टै ‘ह्यान्डसेक’को मोडालिटी टुंगिएर सूचना प्रकाशित हुन्छ ।’

 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box