पर्साका मिटरब्याजीहरूले आइतवार वीरगंजमा विरोध जुलुस प्रदर्शन गर्दै सुरक्षा निकायविरुद्ध चर्को नाराबाजी गरेका छन् । रातोबगलाबाट निकालिएको विरोध र्याली नगरपरिक्रमपछि घण्टाघरमा पुगी धर्नामा परिणत भएको थियो ।
धर्नामा सहभागीहरूले छलफलको नाममा आफूहरूलाई बोलाइ जिल्ला प्रशासन कार्यलय, पर्साले दुव्र्यहार गर्नुका साथै अनावश्यक मुद्दा लगाइ थुन्ने कार्य गरिरहेको बताए । उनीहरूले सो अविलम्ब बन्द नगरिए सशक्त आन्दोलन गर्ने बताए । परिस्थिति अनुसार आफूहरूले सरकारको नियमभित्र रही ऋण दिएकामा अहिले आएर आफूहरूलाई दोषी प्रमाणित गर्दै जिल्ला प्रशासन कार्यालयले थुन्ने र अनावश्यक दुःख दिने गरेको बताए ।
वाणिज्य बैंकहरूले अहिले १८ प्रतिशतसम्म ब्याज सर्वसाधारणसँग लिंदै आएको बताउँदै उनीहरूले मिटरब्याजीविरुद्ध सरकारले पक्षपातपूर्ण तरीकाले १० प्रतिशत ब्याज दिलाउनु अन्याय भएको बताए । आफूहरूकै ऋणबाट अधिकांश व्यक्तिका छोराछोरीहरू चिकित्सक, इन्जिनीयर बनेका बताए । प्रहरी प्रशासनले आफूहरूलाई दुःख दिने नियतले विनाकारण थुनेर जबरजस्ती मिलापत्र गराउने कार्य तत्काल रोक्नुपर्ने उनीहरूले माग गरे ।
सहभागीहरूले केही मिटरब्याजीका कारण सबैलाई दुःख दिनु जायज नभएको बताए । प्रहरी प्रशासनले अनुसन्धान गरी दुःख दिने मिटरब्याजीहरूलाई कारबाई गर्नुपर्ने बताए । पीडित भनिएका केही व्यक्तिहरूले ठगी गर्ने उद्देश्यले आरोपित मिटरब्याजीहरूसँग अहिले पनि बार्गेनिङ गरिरहेको बताए ।
सहभागीहरूले साहु–ऋणीबीचको लेनदेन सहयोगलाई अनुचित लेनदेन (मिटरब्याजी) भन्दै जबरजस्ती गर्न पाइँदैन, सामाजिक सद्भाव कायम गर, प्रहरी दमन बन्द गर, अदालतको अवहेलना गर्न पाइँदैन, मिटरब्याजीको नाममा मधेस प्रदेशमा आतङ्क फैलाउन पाइँदैन, नेपाल सरकार खबरदार, गृहमन्त्री मुर्दाबाट जस्ता प्लेकार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।
मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएपछि मिटरब्याजीहरू खुशी हुँदै शान्त भएका छन् भने मिटरब्याजीपीडितहरूले पुनः आन्दोलन घोषणा गर्दै देशभरि विरोध गरिरहेका छन् ।
यता, विधेयक निष्क्रिय भएको भन्दै देशभरिका जिल्ला प्रशासन कार्यालयमा अन्योलता छाएको थियो ।
तर शुक्रवार राति गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यलयमा पुनः परिपत्र गर्दै तोकिएको समयभित्र परेका उजूरीलाई सक्दो चाँडो टुङ्ग्याउन निर्देशन दिएपछि आजदेखि जिप्रका, पर्सामा पनि मिटरब्याजीविरुद्धको कारबाई प्रक्रियाले तीव्रता पाएको छ ।