विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन्। त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन्।
उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन। हामी भारु लिदैनौँ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको दर सस्तो भएको छ। भारतमा प्रतिदिन नेरुको माग बढिरहेको छ। त्यसैले जोगबनीका व्यवसायीले पनि नेरु नै माग्न थालेका हुन्। सीमावर्ती बजारमा भारुको दर सस्तो हुन थालेको ८ महिना भएको छ।
मारमा होटल र हस्पिटल
खुला बजारमा भारतीय मुद्राको मूल्य घटेसँगै नेपालका अस्पताल र होटलहरू मारमा परेका छन्। विराटनगरस्थित न्यूरो अस्पतालका प्रबन्ध निर्देशक अनिशा विष्टले आफ्नो अस्पतालमा भारु १ सयलाई नेरु १५७ को दर तोकिएको जानकारी दिइन्।
प्रबन्ध निर्देशक विष्टले भनिन्, ‘हामीले १५७ को दर तोकेर कुनै अन्याय गरेका छौँ भन्ने लाग्दैन। किनकि संकलित भारु हामी १५५ मा बेच्न खोजिरहेका छौं। तर पनि बिकिरहेको छैन।’ उनले भारुको दर घटेका कारण भारतीय बिरामी आउने क्रममा पनि ह्रास आएको उल्लेख गरिन्।
विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले पनि अस्पतालले नेरु १५५ का हिसाबले भारु १ सय लिइरहेको जनाए। ‘भारु सर्वत्र फालाफाल छ, जोगबनीकै व्यापारी हामीसित भारु लिन मानिरहेका छैनन्,’ उनले भने, ‘हामीसित भएको भारु कहाँ लगेर बिक्री गर्नु भएको छ। आउने बिरामीलाई उपचार गर्दिन पनि भन्न सकिन्न।’
विराटनगर आँखाको उपचारका लागि हब मनिन्छ। यहाँ सानाठुला गरी १२ वटा आँखा अस्पताल छन्। ती अस्पतालका मुख्य सेवाग्राही भारतीय नै हुन्। छिमेकको विहार राज्यमा सुविधासम्पन्न आँखा अस्पताल नभएकाले भारतीयहरू आँखा उपचार गर्न विराटनगर आउने गर्छन्।
यसबाहेक विराट नर्सिङ, विराट टिचिङ अस्पताल, नोबेल मेडिकल, न्यूरो अस्पताल, आर्या न्यूरो लगायतका ठुला अस्पतालमा पनि भारतीयहरू उल्लेख्य मात्रामा आउँछन्। सबै अस्पतालले भारुको रेट घटाएका छन्। सीमावर्ती क्षेत्रका होटलको झन् ठूलो समस्या छ। उनीहरू भारतीय ग्राहकलाई आउन निषेध गर्न सक्तैनन् किनकि सीमा क्षेत्रका होटलका मुख्य ग्राहक भारतीय पनि हुन्।
भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपालको सीमा क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायले लय पक्रिएको छ। त्यस्तै भारतबाट नेपालका होटल र पार्टी प्यालेसमा आएर जन्मोत्सव, वैवाहिक वार्षिकोत्सव, राजनीतिक तथा पेसागत बैठक र विवाह गर्नेहरूको संख्या पनि प्रशस्त छ। दुई महिनाअघि विहारको अररिया जिल्लास्थित पत्रकार संघको अधिवेशन धनकुटाको भेडेटारमा गरिएको थियो।
‘तर हामीलाई अप्ठ्यारो छ’, होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले सुनाए, ‘भारतीय ग्राहक आउँछन्, बस्छन्, खान्छन र हिँड्ने बेलामा बिलको भुक्तानी गर्छन्। अन्तिम बिल बनाउने बेलामा डिस्काउन्ट गर्न पनि लगाउँछन् र १६० का दरमा भारु दिएर जान्छन्। विराटनगरका पर्यटकस्तरीय होटलले अहिलेसम्म भारुको दर घटाएका छैनन्। हामी भारु लि
न्न भन्न सक्तैनौँ तर यसरी प्राप्त भारुलाई सरकारी दर १६० का मूल्यमा साट्न पनि सक्तैनौँ। साट्नु पर्यो भने १५० को दरलाई स्वीकार गर्नुपर्छ।’
असर प्लाइउड उद्योगीलाई
खुला बजारमा भारु सस्तो भएको असर प्लाइउड उद्योगीले ब्यहोर्नु परिरहेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतले नगद अनुदान दिने नीति बनाएका थिए। पूर्व मन्त्री शर्माको यही नीतिका कारण गत साउनदेखि नेपालका उद्योगीले भारततर्फ प्लाइउडको निर्यातलाई आक्रामक रूपमा विस्तार गरेका छन्।
उत्पादनको निर्यात गरे पनि नेपालका प्लाइउड उद्योगी मारमा पर्नुको कारण भने भारुको घटेको मूल्य नै हो। स्रोतका अनुसार भारत सरकारले प्लाइउडमा जीएसटीको दर १८ प्रतिशत तोकेको छ। यही महँगो जीएसटीको रकम छल्न भारतका आयातकर्ताहरू नेपालका उद्योगीसँग ५० देखि ६० प्रतिशत न्यून विजकीकरणमा प्लाइउडको एलसी खोल्छन् र बाँकी रकम हुन्डीबाट पठाउँछन्।
नेपालका प्लाइउड निर्यातकर्ताले हुन्डीबाट पाउने रकम भारतीय मुद्रामै हुन्छ, जुन मुद्रा अहिले सस्तोमा बिक्री भइरहेको छ। यसरी भारुको मूल्यले प्लाइउडका निर्यातकर्ता संकटमा परेका छन्। भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म २ अर्ब २५ करोड रुपैयाँको प्लाइउड भारततर्फ निर्यात भइसकेको छ। तर न्यूनविजकीकरण नहुने हो भने यसको वास्तविक मूल्य ५ अर्बभन्दा बढी हुने स्रोतको दाबी छ।
के हो कारण भारु सस्तो हुने ?
जानकारका अनुसार नेपालमा वैदेशिक रोजगारमा गएका नेपालीले वैधानिक बाटो छाडेर हुन्डीबाट रेमिट्यान्स पठाउनु नै भारु सस्तो हुने मुख्य कारण हो। वैदेशिक रोजगारमा गएका नेपालीले त्यहाँका मुलुकमा पाएको आफ्नो पारिश्रमिक त्यहीँका हुन्डी कारोबारीलाई दिन्छन्। अहिले नेपालमा १ अमेरिकी डलरको मूल्य १३२ का हाराहारीमा छ। तर हुन्डी कारोबारीले नेपालका वैदेशिक रोजगारका घरमा १३५ का हिसाबले पारिश्रमिकको रकम घरमै उपलब्ध गराइदिन्छन्।
डलरमा परिवर्तन गरेर उक्त डलर भारत पठाउँछन्।
यसपछि यता नेपालमा वैदेशिक रोजगारका घरमा उनीहरूको रेमिट्यान्स नेरुमा पुर्याइदिने काम पनि तिनै हुन्डी कारोबारीले गर्छन्। त्यसैले उनीहरूलाई नेरुको ठुलो परिमाण चाहिएको हो। यसका लागि उनीहरू भारु दिएर नेरु बनाउँछन्। यही कारणले खुला बजारमा भारुको आपूर्ति र नेरुको माग अत्यधिक भएको हो।
भारुको मूल्य घटने र नेरुको बढ्ने कारण पनि यही हो। नेपालमा अहिले अमेरिकी डलरको मूल्य नेरु १३२ का हाराहारीमा छ। यही डलरको मूल्य दुबई, कतार, सिंगापुर, सउदी अरब, अमेरिकाजस्ता मुलुकका ग्रे मार्केटमा १३८ देखि १३९ रुपैयाँसम्म छ।