वीरगंज । वीरगंजमा नाला सफाइका क्रममा आइतबार ठूलो परिमाणमा बन्दूकमा प्रयोग हुने गोली फेला परेको छ ।
महानगरले चलाइरहेको ठूलो नाला सरसफाइ अभियानअन्तर्गत वडा नम्बर ६ मा पर्ने मुख्य नाला सफाइ गंरे क्रममा बन्दूकमा प्रयोग हुने गोली फेला परेको हो । प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १ सय ५ थान गोली फेला परेको प्रहरीले जनाएको छ ।
नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दूलमा प्रयोग हुने १ सय ५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।
फेला परेको मध्ये ४ वटा गोली बिग्रिएको अवस्थामा भेटिएको उनले बताए । उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुल्न सकेको छैन ।
नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए । गोली भेटिएको खबर पाउनासाथ एसपी शाह आफै भेटिएको स्थानमा पुगेका थिए ।




