वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अनियमित रुपमा हुने विद्युत आपूर्तिको समस्या समाधान गर्न निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेलाई अनियमित रुपमा भइरहेको विद्युत आपूर्तीको समस्या समाधान गर्न महानगर प्रमुख सिंहले मंगलवार निर्देशन दिएका हुन् ।
केही दिन यता बढ्दै गएको गर्मीका समयमा विद्युत सेवा अवरुद्ध हुँदा नागरिकको जनजीवन प्रभावित भएको भन्दै मेयर सिंहले प्राधिकरण प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
विद्युत आपूर्तिमा देखिएको समस्या र त्यसबाट जनजिवनमा परेको असरबारे दुवेलाई ध्यानाकर्षण गराउँदै सिंहले छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
प्रचण्ड गर्मीले आजित बनेका वीरगञ्जवासी छिन छिनमा लाइन कट्दा थप पिडामा परेको भन्दै मेयर सिंहले यो समस्या समाधानका लागि प्राधिकरणले तत्कालै काम थाल्न आग्रह गरे ।
केन्द्रका प्रमुख दुवेले वीरगञ्ज क्षेत्रमा केहिदिन यता पटक पटक विद्युतको ट्रीप भएर लाइन कटिरहेको स्विकार गरे । विद्युत आपूर्तिमा देखिएको समस्या समाधानका लागि वीरगञ्ज क्षेत्रका थप २० स्थानमा नयाँ ट्रान्सर्फमर राख्नुपर्ने आवश्यकता औँल्याएँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी गराए । नयाँ ट्रान्सर्फमर जडानका क्रममा सहयोग गरिदिन पनि उनले मेयर सिंहलाई अनुरोध गरेका छन् ।