तराई–मधेसका विद्यालयमा गर्मी बिदा
तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रिमनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनिदिएपछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो ।
मध्यतराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेपछि तातो हावा (लु) पनि चल्न थालेको छ, जसकारण दैनिक जनजीवन प्रभावित भएको छ । लु चल्न थालेपछि झापा, पर्सा, सप्तरी, रौतहट, सिराहा, बाँकेका कतिपय पालिकाले विद्यालयको पठनपाठन दुई दिनदेखि एक सातासम्मका लागि बन्द गरेका हुन् ।
गाउँपालिकाले तीन दिन बिदा दिएका छन् ।
बुटवलमा असार पहिलो सातासम्म विद्यालय बन्द
बुटवलका विद्यालय ८ असारसम्मका लागि बिदा भएका छन् । वार्षिक शैक्षिक क्यालेन्डरअनुसार यहाँका विद्यालयमा १६ जेठदेखि ८ असारसम्म बिदा भएको हो । बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल वार्षिक बिदा तय गर्न विगतमा कार्यदल बनाइएको र त्यही कार्यदलको सुझावबमोजिम वार्षिक क्यालेन्डर बनेको बताउँछन् । कार्यदलले तय गरेबमोजिम गर्मी तथा जाडो बिदाका अतिरिक्त स्थानीय बिदासहितको क्यालेन्डर बुटवलमा बनेको छ । ‘क्यालेन्डरबमोजिम बिदा गरिएको हो, यही समयमा गर्मी पनि बढेको छ,’ खनालले भने । उनका अनुसार बुटवलका सबै विद्यालयलाई शैक्षिक क्यालेन्डरअनुसार बिदा दिन भनिएको बताए ।
लुबाट कसरी जोगिने ?
तातो हावा अर्थात् लुबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत हुन् । लुबाट बच्न बढी गर्मीयाममा घरभित्र वा अनुकूल मौसम रहेको स्थानमा रहने, दिउँसो बाहिर नजाने, जानै परेमा छाता ओढ्ने, टाउको छोप्ने, टोपी लगाउने, घाममा बढी नबस्ने, हल्का तथा सुतीका लुगा लगाउने, पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहनुपर्छ ।